विद्यालय भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दर्ता

भवन नै नबनाई भुक्तानी लिएको आरोप

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते १६:१४
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-durupayog-anusandhan-aayog.jpg

काठमाडौं । बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालयको ३ तले १२ कोठे नमुना भवन निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरेको भन्दै आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार विद्यालय व्यवस्थापन समिति र प्राविधिकको मिलेमतोमा झुटो बिल तयार पारी भुक्तानी लिएको र राज्यलाई नोक्सानी पुर्याएको पाइएको छ ।

मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष रमेश बहादुर अधिकारी, प्रअ धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्ट छन्, जसलाई २६ लाख ५४ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिवानाको माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


Facebook Comments