अन्य युवकसँग बोलेको शंकामा प्रेमीले गरे प्रेमिकाको ह*त्या
इनारभित्र भेटियो युवतीको शव
मेयरसाप डेस्क
|
२०८२ माघ १४ गते १७:२३
नेपालगञ्ज । मामाघर जान भनी घरबाट निस्किएकी २१ वर्षीया युवतीको हत्या गरी इनारमा फालिएको अवस्थामा शव फेला परेको छ ।
बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टीकी बसन्ती गोडियाको शव घर नजिकैको प्रयोगविहीन इनारमा सडिसकेको अवस्थामा भेटिएको हो ।
माघ १ गते शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले हत्या आरोपमा उनकै प्रेमी २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, करिब एक वर्षदेखि प्रेम सम्बन्धमा रहेकी बसन्तीले अन्य युवकसँग पनि कुराकानी गरेको शङ्कामा बर्माले योजनाबद्ध रूपमा हत्या गरेका हुन् ।
उनले राति ११ बजेतिर सल्लाह गर्नु छ भनी बसन्तीलाई घरबाहिर बोलाएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
हत्यापछि प्रमाण मेटाउन शवलाई छिमेकीको इनारमा खसालेर उनी फरार भएका थिए । बाँकेका एसपी अंगुर जिसीका अनुसार, अभियुक्त बर्माले रिसको झोंकमा हत्या गरेको स्वीकार गरिसकेका छन् ।
Facebook Comments