बाजुरामा हिमपात : जनजीवन कष्टकर बने पनि किसान उत्साहित

User Image गोविन्द तिमिल्सेना | २०८२ माघ १४ गते १७:३३
Image of https://mayorsap.com/storage/photos/shares/bajura-hiu.jpg

बाजुरा । बाजुरामा मंगलबार रातिदेखि पुनः भारी हिमपात र वर्षा सुरु भएको छ । 

यो साता दोस्रो पटक भएको हिमपातका कारण जिल्लाका बडीमालिका, पोरखेलेक, बुढीनन्दा लगायतका उच्च हिमाली क्षेत्रहरू सेताम्ये भएका छन् ।

हिमपातले जनजीवन कष्टकर बनाए पनि लामो खडेरीपछि सुक्न लागेको गहुँबालीलाई राहत पुगेको भन्दै किसानहरू खुसी भएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, यो वर्षाले हिउँदे बाली र चैतमा लगाइने धानका लागि समेत फाइदा पुग्नेछ ।

हिमपातका कारण मार्तडी–कोल्टी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, भने विद्युत् र टेलिफोन सेवा समेत प्रभावित बनेको छ ।

चिसो बढेसँगै वन्यजन्तुहरू बेसीतिर झर्न थालेकाले चोरी–सिकारी बढ्न सक्ने भन्दै डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाउन र सिकार नगर्न आग्रह गरेको छ ।


Facebook Comments