कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण सम्पन्न, भोलिदेखि परीक्षण

१३२ केभीको पावर, उच्च सतर्कता राख्न आग्रह

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १४:०२
Image of https://mayorsap.com/storage/photos/shares/lain.jpg

सुर्खेत । कर्णालीबासीको लामो समयदेखिको प्रतिक्षा समाप्त भएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई भोलि देखि विद्युत् प्रवाह गरी परीक्षण गरिने भएको छ ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो आयोजनाले कर्णालीको विद्युत् आपूर्तिमा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुख शशीभूषण शाहका अनुसार, बाँकेको कोहलपुर सवस्टेशनदेखि सुर्खेतको सुब्बाकुनासम्मको १३२ केभी डबल सर्किट लाइनमा परीक्षण सुरु गरिनेछ ।

परीक्षण सफल भएलगत्तै यसलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । उच्च क्षमताको विद्युत् प्रवाह हुने भएकाले प्राधिकरणले बाँके, बर्दिया र सुर्खेत खण्डका बासिन्दालाई टावरमा नचढ्न, तारमुनि नजान र विद्युतीय संरचनाबाट टाढै रहन विशेष अनुरोध गरेको छ ।

परीक्षणका क्रममा कतै जोखिम देखिएमा तत्काल प्रहरी वा प्राधिकरणलाई खबर गर्न समेत आग्रह गरिएको छ ।


Facebook Comments