आचारसंहिता उल्लंघनमा कठोर बन्दै आयोग, धमाधम स्पष्टीकरण मागिँदै

हानिकारक सूचनामाथि कारबाही सुरु

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १७:०५
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म २१ वटा राजनीतिक दल, उम्मेदवार र संस्थासँग आयोगले स्पष्टीकरण माग गरेको छ ।

आयोगका अनुसार, हालसम्म प्राप्त उजुरीका आधारमा सोधिएका २१ वटा स्पष्टीकरणमध्ये ५ वटाको जवाफ प्राप्त भइसकेको छ, भने बाँकी जवाफका लागि ताकेता भइरहेको छ । निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन आयोगले उम्मेदवार र दलहरूका लागि छुट्टै बैंक खाता अनिवार्य गर्दै नेपाल राष्ट्र बैंकमार्फत परिपत्र समेत गराइसकेको छ ।

आयोगले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सम्प्रेषण हुने मिथ्या सूचना, भ्रमात्मक जानकारी र घृणास्पद अभिव्यक्तिको निगरानी गर्न सूचना सदाचार प्रवद्र्धन इकाई परिचालन गरेको छ । सो इकाईले हालसम्म ३०२ वटा हानिकारक सूचनाहरू पहिचान गरी विद्युतीय कारोबार ऐन र प्रेस काउन्सिल ऐन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ ।

आचारसंहिता अनुगमनलाई ७७ वटै जिल्लामा प्रभावकारी बनाउन आयोगले सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई प्रशासनिक विषय र प्रमुख कोष नियन्त्रकहरूलाई आर्थिक विषय हेर्ने गरी आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।

निर्वाचनको मर्यादामा आँच पुग्ने गतिविधि भएमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन आयोगले सरोकारवाला सबैलाई आग्रह गरेको छ ।


Facebook Comments