पुराना दललाई रविको चुनौती–देश अन्तिम सुनामीको तयारीमा छ, जो–जो मिल्नुपर्ने हो मिलेर आए हुन्छ

'जनविद्रोहले फालेको पुरानो संसद फर्काउने चलखेल स्वीकार्य हुँदैन'

User Image मेयरसाप डेस्क | २०८२ माघ २० गते १७:३५
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane-speaking.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै पुराना दलहरुलाई गठबन्धन गरेर सुनामी रोक्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले आफू केही दिनको आरामपछि पुन सार्वजनिक जीवनमा फर्किएको जानकारी गराउँदै पुराना दलहरुलाई गठबन्धन गरेर वा जुनसुकै तरिकाले मिलेर आएपनि निर्वाचनमा आउन चुुनौती दिएका हुन् । 

उनले मतपरिणाम जस्तो भएपनि स्वीकार्ने तर जनविद्रोहले फालेको पुरानो संसद फर्काउने चलखेल स्वीकार्य नहुने चेतावनी समेत दिए । 

‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,’ लामिछानेले भनेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाब र धम्की स्वीकार्दैनौं ।’

उनले अब देशमा घटना नभएर इतिहास हुने र त्यो इतिहास जनता आफैंले मतपत्रमार्फत लेख्ने दाबी समेत गरेका छन् । लामिछाने भन्छन्, ‘सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरमपछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि, देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।’
 
लामिछानेले सिंहदरबार पुग्न नभएर सिंहदरबार बदल्न आफूले घण्टीमा भोट मागेको समेत बताएका छन् । ‘अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउँदा धाउँदा  थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ’, उनले भनेका छन्, ‘म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।’

लामिछानेले आफूहरुलाई लोकप्रियतावादी, भिजन बिनाका, नीती सिद्धान्त बिनाको पार्टी भन्ने गरिएको भन्दै भट्याएर नसकिने विचार भएका पार्टीको काम समेत देखिएको टिप्पणी गरेका छन् । 

‘भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी, भिजन बिनाका, नीती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा–दस्तावेज पढ्ने जाँगर  विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइँहरुको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर  राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् ।’


Facebook Comments