ओली सरकारले ल्याएकाे सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले फिर्ता लिने
मेयरसाप डेस्क
|
२०८२ माघ २० गते १८:५८
काठमाडौं । तत्कालीन ओली सरकारले ल्याएकाे सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन सरकारले स्वीकृत प्रदान गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत ओली सरकारले यो विधेयक ल्याएका थिए । १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादका कारण धेरै अगाडि बढ्न सकेको थिएन ।
यो विधेयक २७ माघ २०८१ मा राष्ट्रिय सभामै प्रस्तुत भएको थियो । लामो समयसम्म यतिकै रहेता पनि पछिल्लो समय अगाडि बढाउन खोज्दा यो विधेयकउपर ३ भदौ २०८२ मा सामान्य छलफल भएको थियो । केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारले विवाद भएका विषय मिलाउने गरी विधेयक अगाडि बढाउन खोजिरहेका बेला जेनजी आन्दोलन भयो र तत्कालीन सरकार नै अपदस्त हुन पुग्यो ।
Facebook Comments