आयल निगमले भन्याे– ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्नू
हल्लाको पछि नलाग्न आग्रह
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १४:४६
काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव हुने हल्ला फैलिएपछि नेपाल आयल निगमले त्यसको खण्डन गरेको छ । मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास स्टक गरेर कृत्रिम अभाव सिर्जना नगर्न अनुरोध गरेको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको आवश्यकता पर्छ । तर, पछिल्लो चार दिनमा (शनिबारदेखि मंगलबारसम्म) ३६५ बुलेट ग्यास लोड भई आपूर्ति भइरहेको छ । मंगलबार मात्रै भारतबाट १ लाख ६३ हजार ३ सय सिलिन्डर ग्यास आयात भएको निगमले जनाएको छ ।
निर्वाचनको समयमा पनि ग्यास आपूर्तिलाई निरन्तरता दिइने बताउँदै निर्देशक भट्टले सामाजिक सञ्जालमा फैलिएका भ्रमको पछि नलाग्न आग्रह गरे । केही दिनदेखि अभावको डरले उपभोक्ताहरू ग्यास डिपोमा लामो लाइन बस्न थालेपछि निगमले यस्तो स्पष्टीकरण दिएको हो ।
Facebook Comments