रौतहट–३ : पुराना शक्तिलाई रास्वपाका रवीन्द्रको चुनौती
राजनीतिक विद्रोहको नयाँ लहर
प्रेमचन्द्र झा
|
२०८२ माघ २२ गते १२:५२
रौतहट । रौतहट क्षेत्र नम्बर ३ लामो समयदेखि पुराना अनुहार, परम्परागत राजनीतिक शैली र एउटै शक्ति संरचनाको वरिपरि घुम्दै आएको छ । यहाँको राजनीति विकास, सुशासन र जनजीवनका आधारभूत सवालभन्दा पनि पहुँच, प्रभाव र परिवारवादमा सीमित भएको गुनासो आम नागरिकबाट बारम्बार सुनिँदै आए पनि यसपटकको निर्वाचनले नयाँ मोड लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवीन्द्र पटेल ‘धीरज’को उम्मेदवारीलाई धेरैले चुनावी प्रतिस्पर्धाको रूपमा मात्र नभई स्थापित राजनीतिक दलविरुद्ध बलियो चुनौतीका रूपमा हेर्न थालेका छन् ।
धीरज पटेलको राजनीतिक यात्रा आकस्मिक उदय नभई दशकौँ लामो संघर्षको उपज हो । उनका अनुसार, उनको राजनीतिक चेतनाको सुरुवात कक्षा ४ मै भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनको समयमा अखिल (क्रान्तिकारी) को इकाई अध्यक्ष बनेपछि उनले संगठित राजनीतिक जीवनमा पाइला टेकेका थिए । त्यसपछि २०५३ सालमा नेकपा माओवादीको सदस्यता लिएर उनी सक्रिय राजनीतिमा होमिए, जुन समय नेपाली राजनीतिमा गहिरो असन्तोष, वर्गीय विभाजन र उत्पीडन विरुद्धको आवाज चर्किँदै गएको ऐतिहासिक कालखण्ड थियो ।
त्यतिबेला माओवादी आन्दोलन मजदुर, किसान, गरिब, दलित, जनजाति र उत्पीडित समुदायको प्रतिनिधि पार्टीका रूपमा अगाडि आएको थियो । हसिया–हथौडालाई चुनाव चिन्ह बनाएको उक्त आन्दोलनले राज्यसत्तामा रहेका असमान संरचनाहरू भत्काउने र नयाँ न्यायपूर्ण समाज निर्माण गर्ने सपना देखाएपछि धीरज पनि समाज रूपान्तरणको त्यही सपना बोकेर जनयुद्धमा सहभागी भए ।
उनी भन्छन्, ‘१७ हजारभन्दा बढी मानिसले आफ्नो जीवन आहुति दिएको संघर्ष केवल सत्ता परिवर्तनका लागि मात्र थिएन ।’ तर, शान्ति सम्झौता पछि संविधान बन्यो, चुनाव भयो र माओवादी नेतृत्व सत्तामा पुगे पनि धीरजको बुझाइमा जनतालाई देखाइएका सपना व्यवहारमा उतारिएनन् । शोषित, पीडित, मधेसी र दलितको अधिकार कागजमै सीमित भयो भने नेतृत्व तह परिवारवाद र व्यक्तिगत स्वार्थमा अल्झियो । यही निराशा र आक्रोशले उनलाई पुरानो धार छाडेर नयाँ राजनीतिक विकल्प खोज्न प्रेरित गर्यो, जसको परिणाम आज राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनको उम्मेदवारी छ ।
रौतहट ३ का समस्याहरू केलाउँदै गर्दा धीरज ठुला सपना भन्दा पनि जनजीवनसँग जोडिएका आधारभूत सवालहरू उठाउँछन् । यहाँ स्वास्थ्य र शिक्षाको अवस्था दयनीय छ । सरकारी विद्यालयहरू गुणस्तरहीन छन् भने स्वास्थ्य संस्थामा जनशक्ति नहुँदा सर्वसाधारण निजी अस्पताल धाउन बाध्य छन् । संघीयता पछि ‘सिंहदरबार’ गाउँमा आउने भनिए पनि धीरजको बुझाइमा स्थानीय सरकार अहिले भ्रष्टाचार दलदलमा रूपान्तरण भइसकेको छ ।
यदि आफूले चुनाव जितेमा पहिलो प्राथमिकता भ्रष्टाचार विरुद्धको कडा संघर्ष हुने धीरजको अडान छ । कृषि प्रधान क्षेत्र भएकाले मल, बीउ र सिँचाइको अभावमा थिचिएका किसानलाई ‘भोट बैंक’को रूपमा मात्र प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै आधुनिक प्रविधि र बजार सुनिश्चित गर्ने उनको योजना छ । साथै, समाजमा जरा गाडेर बसेका छुवाछुत र बोक्सी जस्ता कुरीति विरुद्ध कडा कानुनी व्यवस्था र सामाजिक सचेतना जगाउने संकल्प उनले गरेका छन् ।
रौतहटको राजनीतिमा लामो समयदेखि प्रभावशाली रहेका प्रभु साहलाई धीरज र रास्वपाले परिवारवाद र आफन्तवादको प्रतीकका रूपमा चित्रण गरेका छन् । साहले विकासको नाममा पद र शक्तिको दुरुपयोग गरेको र कयौँको जीवन बरबाद गरेको जस्ता आरोपहरूले यहाँको चुनावी माहौल निकै राेचक बनेको छ । आफ्नो राजनीतिक यात्रामा ’बिकाऊ’ भन्ने आरोप र ’गरिबको छोरा’ भनेर हेपिएको अनुभव सँगालेका धीरजले यसपटक जनतालाई भावनात्मक अपिल गर्दै फैसला अब भोट मार्फत हुनुपर्ने बताएका छन् ।
यो चुनाव केवल स्थानीय मात्र नभई बालेन शाहको उदयले ल्याएको सुशासनको लहर र युवालाई देशमै रोजगारी दिने राष्ट्रिय बहससँग पनि जोडिएको छ । ‘हरहर बालेन, घरघर बालेन’ र ‘चुपचाप घण्टी छाप’ जस्ता नाराहरू अहिले मौन विद्रोहको प्रतीक बनेका छन् । अन्ततः रौतहट क्षेत्र नम्बर ३ मा यो चुनाव पुरानो राजनीतिक संस्कार र नयाँ विकल्प बीचको संघर्ष हो । यसपालि यहाँका मतदाताले पुरानै अनुहार रोज्छन् कि नयाँ आशा, त्यसको फैसला फागुन २१ गतेको मत परिणामले दिनेछ ।
Facebook Comments