Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मुख्यमन्त्री बानियाँ खुुलेआम राजनीतिक कार्यक्रममा सहभागी, निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप

User Image दिक्षान्स खड्का | २०८२ फागुन १ गते १२:४३
Image of https://mayorsap.com/storage/photos/shares/nindra.jfif

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ हात्तीसुँडेमा आयोजित नेपाली कांग्रेस निकट महिला संगठनको कार्यक्रममा सहभागी भएको भन्दै चर्को आलोचना भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते तय भइसकेको अवस्थामा सरकारी पदमा बहाल रहेका व्यक्तिले पार्टीगत कार्यक्रममा सहभागिता जनाउन नपाउने स्पष्ट प्रावधान हुँदाहुँदै मुख्यमन्त्री स्वयं राजनीतिक कार्यक्रममा देखिनु गम्भीर प्रश्नको विषय बनेको हो।

स्थानीय राजकुमार तामाङका अनुसार उक्त कार्यक्रममा मुख्यमन्त्री बानियाँको उपस्थिति मात्रै नभई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्याय समेत सहभागी थिइन्। यसले सरकारी शक्ति र पार्टीगत गतिविधि एकैसाथ चलिरहेको सन्देश गएको भन्दै विरोध बढेको हो।

यसअघि केही दिन अगाडि बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने पनि आचारसंहिताविपरीत गतिविधिमा संलग्न भएको आरोप लागिसकेको थियो। पटक–पटक यस्ता घटना दोहोरिँदा मकवानपुरमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमाथि नै प्रश्न उठ्न थालेको छ।

स्थानीय राजकुमार तामाङले भने, “निर्वाचन नजिकिँदै गर्दा सरकारी पदमा बसेका व्यक्तिहरूले खुलेआम पार्टीगत कार्यक्रममा भाग लिनु सरासर आचारसंहिताको उल्लङ्घन हो। यसले निष्पक्ष निर्वाचनप्रति जनताको विश्वास कमजोर बनाउँछ।”

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि सरकारी स्रोत, साधन तथा पदको दुरुपयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर प्रदेशकै कार्यकारी प्रमुखको यस्तो सहभागिताले कानुनी तथा नैतिक दुवै दृष्टिले प्रश्न खडा गरेको छ।

यस विषयमा निर्वाचन आयोग र सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्ने कि नगर्ने भन्ने चासो आम मतदातामा बढेको छ। निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन जिम्मेवार पदाधिकारीहरू नै नियमको पालना गर्न अग्रसर हुनुपर्ने जनमत रहेको छ।


Facebook Comments