सिरहामा दुई पूर्व सांसदसहित सयभन्दा बढी नेता कार्यकर्ताले गरे एमाले परित्याग
मुकेशकुमार यादव
|
२०८२ फागुन २ गते १४:५२
सिरहा। सिरहामा नेकपा एमालेका दुई पूर्व सांसदसहित एक सयभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गर्दै एमाले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरूमा पूर्व सांसद जानकी राम, निवर्तमान प्रतिनिधि सभा सदस्य सम्झना थपलिया, जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य फूलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघ सिरहाका अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्ष्मण यादव र वडा कमिटी सदस्य वीरेन्द्र कुमार सिंहलगायत छन् ।
निवर्तमान सांसद थपलियाले पार्टीभित्र स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली र विधि पद्धतिबाट विचलन बढेको आरोप लगाइन् ।
उनले भनिन्, ‘पार्टीलाई सही मार्गमा ल्याउन बारम्बार रचनात्मक सुझाव दिँदा पनि नेतृत्वबाट कुनै सुनुवाइ भएन । इमान्दार कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्ति बढेपछि पार्टीमा बसिरहन सक्ने अवस्था रहेन ।’
पार्टी परित्याग गर्ने नेताहरूले एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक लिलानाथ श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । श्रेष्ठको स्वेच्छाचारी शैलीका कारण पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको उनीहरूको भनाइ छ । श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत हुन् ।
त्यसैगरी, गोलबजार नगरपालिका १० का वडा संयोजकसहित धर्मपुर गाउँका ४ दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पनि पार्टी परित्याग गरेका छन् । उनीहरूले नेतृत्वको एकात्मक कार्यशैली, कुशासन तथा पुराना कार्यकर्तालाई पाखा लगाउने प्रवृत्तिका कारण पार्टी छाड्न बाध्य भएको बताएका छन् ।
पार्टी परित्याग गरेका नेताहरूले राजनीतिको उद्देश्य पद र शक्ति नभई जनताको हित, सुशासन र नैतिकता भएको उल्लेख गर्दै आगामी दिनमा स्वच्छ र उत्तरदायी राजनीतिक यात्रामा अघि बढ्ने बताएका छन् ।
यसअघि पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सिरहामा एमालेका दर्जनौं नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरिसकेका छन्। पछिल्लो घटनाले जिल्लामा एमालेको संगठनात्मक अवस्था कमजोर बन्ने संकेत देखिएको छ।
सिरहाका चारवटै निर्वाचन क्षेत्रमा देखिएको एमाले पार्टी भित्रको आन्तरिक विवादका कारण आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई आफ्नै कार्यकर्ताबाट अन्तर्घात हुने सम्भावना समेत बढेको स्थानीयस्तरमा चर्चा भइरहेको छ।
Facebook Comments