Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

को–को भिड्दैछन् सिन्धुली–१ मा, के-के बोक्दैछन् मुद्धा ?

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १९:५०
Image of https://mayorsap.com/storage/photos/shares/thumb.jpg

काठमाडौं । काठमाडौंसँग नजिकको साँध सिमाना भएको सिन्धुली राजनीतिक रुपमा सक्रिय रहेको प्रमाण विपी–गिरिजा कोइरालाको पारिवारिक बासस्थान भएको तथ्यले बुझाइहाल्छ । माओवादीले जनयुद्ध थाल्दा आधारसिला बनाएका कारण पनि सिन्धुली चर्चाकै केन्द्रमा रहेको छ । अझ सिन्धुलीगढीका युद्धदेखिका घटना सम्झने हो भने सिन्धुली नेपाल बचाउने भूभागका रुपमा परिचित छ ।

तर त्यही सिन्धुलीका राजनीतिक उम्मेदवारहरु यतिबेला गुमनाम छन् । सिन्धुलीमा दुई निर्वाचन क्षेत्र छन् । चर्चा गरौं सिन्धुली–१ को । सिन्धुली १ संसदीय क्षेत्रमा गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ वडा रहेका छन् । विगतमा कांग्रेस र एमालेले यो क्षेत्रमा आश्वासनका पोका जनतालाई बाँडेर चुनाव जितेको हाम्रा दर्शकलाई हामीले भनिरहनै पर्दैन । २०६४ सालमा एमालेका विषमलाल अधिकारी दनुवारले माओवादीका राजन दाहाललाई हराएर सभासद बने । तीनपाटन, गोलञ्जोर, फिक्कल, दुधौली र कमलामाईका जनतालाई सडक बनाइदिनेदेखि, पर्यटनभित्र्याइदिनेसम्मका आश्वासन बाँडे ।

जनताले त्यतिबेला मुख्य रुपमा खोजेका थिए, सडक र सञ्चार । दनुवारले केही खाका त बनाए तर केही ठाउँमा सडकको ट्रयाक खोलिदिनेबाहेक अरु काम भने कता गरे जनताले पत्तै पाएनन् । पछि त उनी संसद बन्न टिकट नदिएको झोकमा एमाले छाडेर माओवादी प्रवेश गरे, सांसदको उम्मेदवार पनि बने तर लज्जासपद तरिकाले हारे । अहिले कता हराए, पता नहीँ ।

त्यसपछि आए एमालेका गणेश पहाडी । खाङसाङ क्षेत्रका बासिन्दा पहाडीलाई दुई कार्यकाल सिन्धुली क्षेत्र नम्बर १ का नागरिकले जिताएर पठाए । उनले पनि दुई कार्यकालमा खाङसाङ क्षेत्रमा केही विकास गर्नेबाहेक खास्सै सिन्को भाँचेनन् भन्दा हुन्छ । जनता सञ्चार, बिजुली र सडकको अभावमा भौतारिरहँदा पहाडी सिन्धुलीबाट काठमाडौंमा घर बनाएर बस्ने हैसियत भएका, धनीमनी, र मुख्य कार्यकर्ताको वरिपरी मात्रै देखिए । आम नागरिकको बस्तीमा कहिल्यै पुगेनन् । त्यसपछि २०७० सालको प्रतिनिधिसभाको निर्वाचन भयो । एमाले जिताउँदा पनि अभावमा बाँचेका र पिछडिएको अनुभव गरेका सिन्धुली क्षेत्र नम्बर १ का जनताले यसपटक कांग्रेसले बिकास गरिदेला कि भनेर कांग्रेसका धनी उम्मेदवार श्याम घिमिरेलाई जिताए । तीन वर्ष संसदमा छिरेर संसदमै यौन व्यापार खुल्ला गर्नुपर्नेजस्ता विवादास्पद अभिव्यक्ति बेलाबेला दिएका घिमिरेले पनि सिन्धुलीका जनताको भावना बुझेनन् । कार्यकर्तालाई मात्रै केन्द्रमा राखे ।

त्यही कारण, भित्रि मधेशमा पर्ने सिन्धुलीको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएर सांसद बन्ने तर त्यही क्षेत्रलाई ध्यानमा राखेर काम गर्न नसक्ने अहिलेसम्ममा उम्मेदवारहरुप्रति सिन्धुलीबासी रुष्ट नै छन् । यो पटक देशमै बिद्रोह भएको छ । त्यसको राप सिन्धुलीमा पनि पुगेकै छ । उम्मेदवार पनि एकाध बाहेक पुरानै अनुहार उठेका छन् ।
एमालेबाट अघिल्लो चुनावमा संसदको चुनाव हारेका तर एक पटक बाग्मती प्रदेशको सांसद भइसकेका प्रदीप कटुवाल उम्मेदवार छन् । पञ्चायतकालदेखि राजनीतिमा दौडिएका यिनी पुरानै राजनीतिक व्यक्ति हुन् । उमेर ६३ पुगिसकेको छ । भुगोलमा भने यिनी परिचित छन् । यही ठाउँमा खेलेबढेका हुन् यिनी ।

कांग्रेसबाट उज्जल बराल उम्मेदवार छन् । यिनी एमालेका उम्मेदवारभन्दा उमेरमा अलि कान्छा नै छन् । २०६४ सालदेखि संसदको राजनीति छिर्ने प्रयास गरेका बराल पराजय भोग्न बाध्य पात्र हुन् । यसअघि सिन्धुलीको निर्वाचन क्षेत्र २ बाट उम्मेदवार बनिसकेका यिनी २०६४ सालमै सभासद हुने दौडमा पनि थिए तर पराजित भए । अहिले सिन्धुली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । सिन्धुलीको सदरमुकाम नै यिनको बासस्थानको आधार इलाका हो ।

नेपाली कम्युनिष्ट पार्टीले अधिवक्ता डकेन्द्र सुवेदीलाई उठाएको छ । यिनी चाहिँ नयाँ अनुहार हुन् । रास्वपाले यातायात व्यवसायी धनेन्द्र कार्कीलाई उम्मेदवार बनाएको छ । यिनी पनि सिन्धुलीकै रैथाने हुन् । राजनीतिमा अनुभव भने छैन । यी बाहेक राप्रपा, नेपाल मजदुर किसान पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय परिवर्तन पार्टीलगायतले उठाएका १२ उम्मेदवार मैदानमा छन् ।

मुख्य गरी एमाले, कांग्रेस र माओवादीको भिडन्त हुने यो निर्वाचन क्षेत्रमा यसपटक रास्वपा पनि मिसिएको छ । जित चाहिँ कसले मार्ला, त्यो चाहिँ उम्मेदवारको क्षमता, जनतासँग उनीहरुको घुलमिलको अवस्था र जनताको विकासको अपेक्षामा भर पर्ने कुरा हुन् । अहिलेसम्म खुलेर यो क्षेत्रको कायापलट ल्याउने खालका आफ्ना योजना कुनै दलका उम्मेदवारले सार्वजनिक गरेका छैनन् । तर यत्ति चाहिँ भन्नै पर्ने हुन्छ, जनताले अहिले पनि टेलिफोनको नेटवर्क, इन्टरनेटको असुविधा भोगिरहेको सिन्धुलीमा पटक पटक उम्मेदवार जिताएका दलहरुलाई त्यत्तिकै माफ चाहिँ गर्दैनन् । 


Facebook Comments