दुुर्गा प्रसाईँमाथि सार्वजनिक शान्ति खललविरुद्धको कसुुरमा मुुद्दा चलाइने, प्रहरीले राख्न सक्छ २५ दिनसम्म हिरासतमा
मेयरसाप डेस्क
|
२०८२ फागुन ४ गते १२:१५
काठमाडौं । सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँलाई प्रहरीले हिरासतमा राखेर अनुुसन्धान गर्ने भएको हो ।
उनका गतिविधि तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर गरेको भन्दै निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्रचार गरेको थियो । प्रसाईँलाई एकछिन पनि बाहिर राख्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने आयोगको ठहर बमोजिम राति नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सार्वजनिक शान्ति खललविरुद्धको कसुुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ । प्रसाईंलाई हिरासतमा राख्नका लागि कार्यालय समय शुरू हुनासाथ म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिने छ ।
प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चित कालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् । उनी विरुद्ध झुटा अफवाह फैलाउन नहुने कसुरमा पनि अनुसन्धान गरिने छ ।
यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । प्रसाईँ त्यसअघि माघ ५ मा पनि पोखराबाट पक्राउ परेका थिए ।
Facebook Comments