Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिडियोको अवरोधपछि पलाँता गाउँपालिकाको सेवा प्रभावित

न्यायका लागि अध्यक्ष रोकाया काठमाडौंमा

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते ०८:०९
Image of https://mayorsap.com/storage/photos/shares/palika.JPG

काठमाडौं । कालिकोट जिल्ला प्रशासन कार्यालयको हस्तक्षेपले पलाँता गाउँपालिकाको दैनिक सेवामा अबरोध आएको पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले जनाएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सिडियोले स्थानीय सरकारको क्षेत्राधिकारको अवज्ञा गरेको आरोप समेत लगाएका छन् ।

अध्यक्ष रोकायाले पालिकाको अस्थायी केन्द्रबाट स्थायी केन्द्र रानीबिसौंना सरेको झण्डै डेढ वर्ष वितिसक्दा पनि सो पालिकालाई सेवा दिँदै आएको नबिल बैंकको शाखा कार्यालय अस्थायी केन्द्रमै राख्न सिडियो गोकर्णराज सुयालले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

‘जिप्रकाले सुरक्षा चुनौतीको बहाना देखाउँदै नबिल बैंकलाई शाखा स्थानान्तरण नगर्न निर्देशन दिएपछि बैंकिङ सेवा प्रभावित भएको गुनासो बढेको छ, तर बैंकले पनि तदारुकता नदिनु दुःखत विषय हो’ अध्यक्ष रोकायाले भने ।

स्थायी केन्द्रमा शाखा सार्न बैंकले नयाँपत्रिका दैनिकमा २०८२ पुष २५ मा बोलपत्र आह्वान गरि माघ ९ गते बोलपत्र खोल्ने आसयको सूचना प्रकाशित गरेको तर हालसम्म पनि त्यसलाई गुपचुप राख्नुले जिल्ला प्रशासन कार्यालय र बैंकको नियतमाथि गम्भीर प्रश्न उठेकोसमेत रोकायाले बताए ।

बदलिदो समयअनुसार पालिकाका सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीबाटै गर्नुपर्ने तर सेवाग्राही पालिका केन्द्रबाट बैंकसम्म पुग्न करिब चार घण्टा पैदल यात्रा गर्नुपर्दा जनताले सास्ति खेप्नु परेको रोकायाले गुनासो व्यक्त गरे । ‘बैंक र जिल्ला प्रशासन कार्यालयको गैरजिम्मेवारीका कारण पालिकाका करिब १८ हजार नागरिकलाई दैनिक बैंकिङ् सेवा लिन निकै असहज भएको छ, यस विषयमा सम्बन्धित निकायको ध्यानकर्षण पनि गराउन चाहन्छु’, रोकायाले भने ।

सामाजिक सुरक्षा भत्ता, कृषि अनुदान, कर्मचारी तलब भुक्तानी, योजना सम्झौता भुक्तानी तथा अन्य वित्तीय कारोबारका लागि टाढाको स्थानसम्म जानुपर्ने बाध्यता खडा भएको जनाउँदै रोकायले भने ‘स्थायी केन्द्र तोकिएपछि सेवा पनि त्यहीँ केन्द्रित हुनुपर्ने हो तर बैंक नसारिँदा जनताले निकै दुःख खेप्नु परेको छ ।’

जिल्ला प्रशासन कार्यालयले पालिकासँग समन्वय नगरि एकतर्फिरुपमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै शाखा सार्न नसकिने पत्र जारी गर्नु स्थानीय सरकार सञ्चालन ऐन २०७४ को बर्खिलापमा गएको रोकायाको दाबी छ । बैंक शाखा सञ्चालको सहजिकरण तथा नागरिकको सहज सेवाका लागि बैंकलाई स्थायी केन्द्रमा सार्न ८ महिनादेखि पहल गरिरहेको बताउँदै रोकायाले भने,‘नविल बैंकको शाखादेखि केन्द्रीय कार्यलयसम्म पनि पटक– पटक धाउँदासमेत बैंकले उदाशिनता देखाउनु निकै दुःखद विषय हो ।’

बैंक शाखा पलाँता गाउँपालिकाको स्थाई केन्द्र रानिबिसौंनामा स्थानान्तरण नभएसम्म पलाँता गाउँपालिकाका हजारौँ सेवाग्राहीले असुविधा भोगेको बताउँदै रोकायाले भने,‘वर्तमान समस्यालाई जिल्ला प्रशासन कार्यालय र बैैंकले हल नगरे पालिकावासीले भविष्यमा कडा संघर्ष गर्नेछन्, त्यसको जिम्मा सम्बन्धित निकायले लिनुपर्नेछ ।’

 


Facebook Comments