परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति हाम्रो पार्टी हो : नारायणकाजी श्रेष्ठ
मेयरसाप डेस्क
|
२०८२ फागुन ५ गते ०९:५२
सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति आफ्नो पार्टी रहेको बताएका छन् ।
श्रेष्ठले राजनीतिक परिवर्तनका उपलब्धि आजसम्म सुरक्षित रहनुमा नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै केही शक्तिहरू परिवर्तनलाई कमजोर पार्ने, उपलब्धि खोस्ने र प्रतिगमन लाद्ने प्रयासमा लागेको आरोप लगाए ।
उनका अनुसार संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिहरूको रक्षा गर्दै देशलाई समृद्धिको दिशामा लैजान पार्टी प्रतिबद्ध छ । श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशलाई सामाजिक–आर्थिक विकासमा रूपान्तरण गर्ने, सुशासन र सामाजिक न्यायको पक्षमा अभियान चलाउने काम पनि आफ्नो पार्टीले गरेको दाबी गरे ।
त्यसैगरी उनले पछिल्लो समय युवापुस्ताले उठाएका मुद्दा, विशेषगरी ‘जेनजी’ का आवाजहरूलाई पार्टीले समर्थन गरेको र युवामाथि हुने दमनको विरोध गर्दै आएको बताए ।
उनले भ्रष्टाचारविरुद्ध सुशासन, राजनीतिक दलहरूको सुधार तथा रूपान्तरण, राजनीतिक स्थिरता र विकासको मुद्दा अघि बढाउँदै देशलाई समृद्ध बनाउने लक्ष्य पार्टीको रहेको उल्लेख गरे ।
श्रेष्ठले सत्य–तथ्य जनतासम्म स्पष्ट रूपमा पुगेमा संविधान र लोकतन्त्रको रक्षा, विकास र समृद्धिको यात्रामा जनताले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
Facebook Comments