Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

लोकतन्त्रको मौनतामा अल्गोरिदमको हल्ला !

User Image रामचन्द्र मिश्र | २०८२ फागुन ५ गते १७:०४
Image of https://mayorsap.com/storage/photos/shares/loktantra-and-algorithm.png
तस्बिर: एआइकाे सहयाेगमा

लोकतन्त्र बोल्छ भनिन्छ। तर आजको नेपालमा लोकतन्त्र धेरैजसो मौन छ—बोलिरहेको छ भने अल्गोरिदम।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बहस चोक, सभा र संसदभन्दा बढी स्क्रिनमा सरेको छ। विचारभन्दा दृश्य, नीति भन्दा प्रतिक्रिया, बहसभन्दा भिडिओ अगाडि छ। मतदाताको ध्यान अब भाषणले होइन, स्क्रोलले तय गर्छ। लोकतन्त्रको आवाज बिस्तारै पृष्ठभूमिमा धकेलिँदै छ, र अगाडि हल्ला मच्चाइरहेको छ—अल्गोरिदम।

अल्गोरिदमले सत्य सोध्दैन। उसले केवल प्रतिक्रिया खोज्छ। कुन कुराले रिस उठाउँछ? कुन दृश्यले आँसु झार्छ ? कुन वाक्यांशले सेयर बढाउँछ? त्यही सामग्री माथि उठ्छ। विश्लेषण हराउँछ, उत्तेजना फैलिन्छ। नीति बहस स्क्रोल भएर जान्छ, भावुक क्लिप भाइरल हुन्छ।

नेपालमा सामाजिक सञ्जालका अल्गोरिदमले अहिलेको राजनीतिमा दृश्य, धारणा र ध्रुवीकरणलाई गहिरो प्रभाव पारिरहेको छ—नेताहरू अब भीडभन्दा बढी ‘फिड’ का लागि नाचिरहेका छन्, बिरामी सुम्सुम्याइरहेका छन् । शिक्षकहरुले महिनैं नपाएको तलब मागीदिइ रहेका छन् । 

अहिले अरुलाई प्रभावमा पार्न गृहयुद्धबाट शान्तिमा भर्खर टुप्लुक्क देखिएका प्रचण्डले अभिनय गरेजस्तो दायाँ–बायाँ औंला फिजाउनु पर्दैन । पेट फुलाउनु पर्दैन । बुढीऔंला घुमाउनु पर्दैन । आजको नेताले सबैभन्दा पहिला घुमाउनुपर्ने कुरा हो—न्यूजफिड । किनकि अहिले राजनीति, चौतारीमा भन्दा टाइमलाइनमा बढी खेलिन्छ ।

सामाजिक सञ्जालका अल्गोरिदमहरूले प्रयोगकर्ताको रुचि, क्लिक, हेर्ने समय, लाइक र सेयरका आधारमा सामग्रीहरु देखाइरहेका छन् । जसले जुन प्रकारको सामग्री हेर्छ, उसैलाई त्यस्तै सामग्री फेरि–फेरि देखाइन्छ । परिणाम—इको चेम्बर, जहाँ मानिसहरू आफ्नै धारणासँग मेल खाने जानकारी मात्र सुन्छन् र अरू विचारलाई बेवास्ता गर्छन् । तपाईं प्रचण्डको नाच हेर्नुहुन्छ भने त्यस्तै नाचहरु तपाईँका फिडमा आइहाल्छ । बालेनको भाषण क्लिक गर्नुभयो भने त्यस्तै भाषणका क्लिपहरु तपाईँको फिडमा घुमिफिरी आइरहन्छन् । 

राजनीति अब केवल विचारको प्रतिस्पर्धा, बिमर्शमा सीमित रहेन । राजनीति अब अल्गोरिदिमको छाँयामा रहने भयो । अल्गोरिदमले सोध्दैन—यो प्रामाणिक वा सान्दर्भिक छ कि छैन ? सोध्छ—कति सेकेन्ड हेरियो ? कति पटक सेयर भयो ? आजको नेताले नीति पढ्नु अघि ‘रिल’ बनाउनु पर्छ । घोषणापत्र छाप्नु अघि ‘थम्बनेल’ सोच्नु पर्छ । नेताले मकै भुटेको भिडियोले सहानुभूति पाउँछ, तर नीति बहसले त्यति ‘रिच’ पाउँदैन । आँसुको क्लिप भाइरल हुन्छ, बजेट विश्लेषण स्क्रोल भएर जान्छ ।

अल्गोरिदमको ट्रेण्ड बटुल्न चुनावमा नेताहरु त्यही शैलीमा झरेको दृश्य अझ रोचक छ । कहिल्यै ढुंगा नबोकेका राजनीतिक उम्मेदवार डकर्मी बनेका छन् । जेरी पोल्न नजान्ने मिठाई पकाउन बाध्य छन् । डोको बुन्न, मकै कुट्न, बिरामीको नाडी छाम्न उम्मेदवारहरु क्यामेरापर्सन लिएरै दौडिरहेका छन् । क्यामेरा भनेको मोबाइल । मोबाइल भनेको प्लेटफर्म । प्लेटफर्म भनेको अल्गोरिदम ।

नेता भीडको तालमा होइन, फिडको तालमा नाचिरहेका छन् । पत्रकार कसको विषयमा लेख्दा बिक्छ, त्यही खोजिरहेका छन् । कुन भिडियो कति सेकेन्ड टिक्छ ? कुन अंश काटेर रिल बनाउँदा बिक्छ? कुन शीर्षक राख्दा क्लिक बढ्छ ? पत्रकारितापछि राजनीति अब आंशिक रूपमा डाटा–सञ्चालित भइसकेको छ ।

अल्गोरिदमलाई भावुकता मन पर्छ । अल्गोरिदमलाई विवाद मन पर्छ । अल्गोरिदमलाई हाँसो, रिस, आश्चर्य मन पर्छ । त्यही राजनीतिक बहस चर्को बन्छ । तथ्यभन्दा उत्तेजना बिक्छ ।

यदि तपाईं कुनै दलप्रति सहानुभूति राख्नुहुन्छ भने तपाईंको टाइमलाइन त्यही दलका गतिविधिले भरिन्छ । अर्को विचारधारा भएको प्रयोगकर्ताको टाइमलाइन ठीक उल्टो हुन्छ । दुवैले आफूलाई सही ठान्छन् ।

नेपालको चुनावी सन्दर्भमा यो झन् तीव्र देखिँदैछ । टिकट बाँडफाँटदेखि गठबन्धनसम्मका हरेक घटनामा सामाजिक सञ्जाल तात्छ । जो भाइरल छ, उसैलाई टिकट, जसको पोष्टमा लाइक कमेन्टको बाढी आउँछ, उही बरिष्ठ नेता । समर्थकहरू ‘आईटी आर्मी’ बनेर उत्रन्छन् । ह्यासट्याग युद्ध चल्छ । एक–अर्कालाई देशद्रोही, भ्रष्ट, अयोग्य भनेर ट्रेन्ड गरिन्छ । सांसद बन्न हिँडेका कोही उम्मेदवार त भोट तान्न फलानो प्रधानमन्त्री भएन भने म आत्मदहा गरिदिन्छु भनेर धम्क्याउँछन् ।

अल्गोरिदम कसैको पक्षमा खुलेर त उभिँदैन । तर जसले बढी प्रतिक्रिया ल्याउँछ, त्यसलाई माथि उठाउँछ । घृणात्मक पोस्ट होस् वा सनसनीपूर्ण आरोप—बस्, पोष्टमा इन्गेजमेन्ट आयो भने पुग्छ । हो, त्यही इनगेजमेन्ट भ्यूको आधार बन्छ । अब त भ्यू र भोटको पनि श्रीमान र श्रीमतीको जस्तो सम्बन्ध हुने भयो । भ्यू धेरै, भोट धेरै भन्ने सोच पलायो । 

त्यसैले अल्गोरिदम प्रभावशाली छ, तर सर्वशक्तिमान चाहिँ छैन । अध्ययनहरूले देखाउँछन्—राजनीतिक रूपमा सचेत, शिक्षित र आलोचनात्मक सोच भएका व्यक्तिहरू केवल बारम्बार देखिएको सामग्रीका आधारमा धारणा बदल्दैनन् । उनीहरू स्रोत जाँच्छन्, तुलना गर्छन्, बहस गर्छन् । त्यही कारण अहिले फ्याक्ट चेक ड्रेण्ड चलिरहेको छ ।

तर सबै प्रयोगकर्ता त्यति सचेत हुँदैनन् । गलत सूचना, एआई–निर्मित भिडियो, सन्दर्भविहीन क्लिप—यी छिटो फैलिन्छन् । एकपटक धारणा बनेपछि त्यसलाई उल्ट्याउन कठिन हुन्छ ।

अल्गोरिदमले वातावरण तयार गर्छ । निर्णय अन्ततः मानिसले गर्छ । जब प्रयोगकर्ताले एउटै विचारसँग मिल्ने सामग्री मात्र देख्छ, उसले अर्को पक्षलाई शत्रुजस्तै देख्न थाल्छ । ‘हामी’ र ‘उनीहरू’ को रेखा गाढा बन्छ । बहस संवादभन्दा आरोपमा बदलिन्छ ।

नेपालजस्तो विविध समाजमा यो जोखिम गम्भीर छ । जातीय, भाषिक, क्षेत्रीय संवेदनशीलता पहिले नै विद्यमान छन् । अल्गोरिदमको यो प्रभावले यी संवेदनशील विषयमा आगो थप्न सक्छ ।

त्यति मात्रै होइन, अल्गोरिदमले अहिलेको नेपालको राजनीतिलाई नै प्रभाव पार्दैछ । यसले ध्रुवीकरण तीव्र बनाइरहेको छ । यसले प्रचार शैली परिवर्तन गराइरहेको छ ।

जमिनको संगठन, सामाजिक सम्बन्ध, उम्मेदवारको विश्वसनीयता, स्थानीय सन्दर्भ—यी विषयभन्दा बढी अल्गोरिदमले नेता र उम्मेदवारलाई लखेटेको छ । राजनीति अब चोकमा मात्र होइन, कोडमा पनि लेखिन्छ । अल्गोरिदमले मञ्च सजाउँछ, बत्ती बाल्छ, क्यामेरा घुमाउँछ । नेता नाच्छन् । जनता हेर्छन् । लाइक गर्छन् । सेयर गर्छन् ।

र, लोकतन्त्र—त्यो भने कहिलेकाहीँ मौन बसेर यो तमाशा नियालिरहेको हुन्छ ।


Facebook Comments