Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

‘न युवाले गोली खानुपर्छ, न कसैले सिंहदरबार जलाउन पाउँछ’

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते १८:०२
Image of https://mayorsap.com/storage/photos/shares/gagan_5.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले अबको नेपालमा आक्रोश र हिंसाको राजनीति अन्त्य हुने उद्घोष गरेका छन् ।

बुधबार जनकपुरमा आयोजित ‘प्रतिज्ञासभा’लाई सम्बोधन गर्दै थापाले अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउने धम्की दिन नपाउने र राज्यको गोलीबाट युवाहरू मारिनु नपर्ने वातावरण बनाउने प्रतिज्ञा गरे ।

गत भदौ २३ र २४ गते सडकमा उत्रिएका युवाहरूको भावनालाई सम्बोधन गर्दै थापाले ‘जेनजी’ पुस्ताको आक्रोशलाई कांग्रेसले नजिकबाट बुझेको बताए ।

‘प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा जस्तो राज्यको गोली खानुपर्ने छैन, यो हाम्रो प्रतिज्ञा हो,’ थापाले भने, ‘त्यस्तै, अब कसैले नकाब लगाएर सिंहदरबार जलाउँछु भन्न पनि पाउँदैन। हामी विधिको शासन चल्ने यस्तो नेपाल बनाउन चाहन्छौँ जहाँ सुरक्षा र न्यायको ग्यारेन्टी हुन्छ ।’

सडकमा देखिएको युवा पुस्ताको असन्तोषलाई कांग्रेसले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले थपे, ‘जेनजी हाम्रै भाइ–भतिजा हुन्, उनीहरू कतै बाहिरबाट आएका होइनन्। उनीहरूले हामीलाई इन्कार गरेका होइनन्, मात्र हाम्रो काम गर्ने पुरानो शैली बदल भनेका हुन्। हामी आफूलाई बदलेर उनीहरूको सपना पूरा गर्न तयार छौँ।’

थापाले अबको राजनीति उत्तेजना र निषेधमा नभई जिम्मेवारी र नतिजामा केन्द्रित हुने दाबी गर्दै कांग्रेसले नै युवाहरूको भावना र देशको आवश्यकताबीच पुलको काम गर्ने बताए ।


Facebook Comments