Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

फोहर व्यवस्थापन र यातायात सुधारमा उपत्यकाका स्थानीय तहहरू एकजुट

साइकल लेनदेखि मेट्रोसम्मको योजना

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते १३:०१
Image of https://mayorsap.com/storage/photos/shares/636771762-1234148148892735-511254284655762775-n.jpg

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहहरूले फोहरमैलाको दिगो व्यवस्थापन र सार्वजनिक यातायात प्रणालीमा आमूल सुधार गर्न ‘एकीकृत सहकार्य’को नीति लिने निर्णय गरेका छन् ।

बुधबार ललितपुर महानगरपालिकाका प्रमुख एवं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३ औँ बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो ।

उपत्यकाको फोहरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न फोरमले ‘अध्ययन तथा समन्वय समिति’ गठन गर्ने भएको छ । यो समितिले फोहर व्यवस्थापनका आधुनिक विधि र प्रविधिको अध्ययन गर्ने मात्र नभई, उपत्यकाका सबै स्थानीय तहबीच समन्वय र सहजीकरणको भूमिका खेल्नेछ ।

हाल काठमाडौं महानगरले व्यवस्थापन गर्दै आएको ल्याण्डफिल साइटमा २४ वटा पालिकाको फोहर विसर्जन भइरहेको सन्दर्भमा यसलाई थप व्यवस्थित बनाउन लागिएको हो ।

बैठकले उपत्यकाको वातावरण र स्वास्थ्यलाई मध्यनजर गर्दै दक्षिणको गोदावरीदेखि उत्तरको बुढानीलकण्ठसम्म ‘साइकल लेन’ निर्माण गर्ने योजना अघि सारेको छ । यसका लागि आवश्यक कानुन निर्माण, गुरुयोजना र पूर्वाधार विकासमा नेपाल सरकारसँग सहकार्य गरिनेछ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातलाई उपत्यकाको मौलिकता र सांस्कृतिक पक्षसँग जोड्नुपर्नेमा जोड दिइन् । ‘उपत्यकाका समस्याहरू सीमाविहीन छन्, त्यसैले प्रशासनिक साँधभन्दा माथि उठेर सहअस्तित्वका आधारमा सहकार्य गर्नुपर्छ,’ उनले भनिन् । 

फोरमका अध्यक्ष महर्जनले मेट्रो रेलको अवधारणा कार्यान्वयनमा सङ्घीय सरकारसँग सहकार्य गर्न स्थानीय तहहरू तयार रहेको बताए । मेट्रो निर्माण नहुञ्जेलसम्मका लागि सार्वजनिक यातायातलाई सहज र भरपर्दो बनाउन तत्कालै काम थालिने उनको भनाइ थियो ।

यसका साथै फोरमले खानेपानी वितरण, नदी सभ्यता संरक्षण, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरण जस्ता साझा समस्या समाधानमा ’एक ढिक्का’ भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।


Facebook Comments