मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
समन्वयमा जुटे पालिका प्रमुखहरू
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १३:२८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरका स्थानीय तहहरू मतदाता शिक्षा र निर्वाचन सहजीकरणमा सक्रिय भएका छन् । निर्वाचन आयोगले देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरेसँगै पालिकाहरूले समन्वय र अनुगमनलाई तीव्र पारेका हुन् ।
आयोगले फागुन ३ देखि १७ गतेसम्मका लागि सञ्चालन गरेको ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ अन्तर्गत स्वयंसेवकहरू नमुना मतपत्रसहित मतदाताको घरदैलोमा पुगेका छन् । यसपटक मत बदर हुने अनुपात घटाउन आयोगले स्थानीय तहका सम्पर्क व्यक्ति (फोकल पर्सन) लाई अनुगमनको जिम्मेवारी समेत दिएको छ ।
संरचना जल्यो, रोकिएन सहकार्य
हालैको ’जेनजी’ आन्दोलनका क्रममा केही स्थानीय तहका भवन र भौतिक संरचनामा क्षति पुगे पनि निर्वाचनका लागि आवश्यक पूर्वाधार जुटाउन पालिकाहरू लागिपरेका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले आन्दोलनका क्रममा कम्प्युटर र भवनहरू जलाइएका कारण सोचे जति सहयोग गर्न कठिन भए पनि उपलब्ध स्रोतसाधनका साथ समन्वय गरिरहेको बताए ।
त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले मतदाता शिक्षासँगै सुरक्षा निकायका लागि अस्थायी बसोबास र अन्य व्यवस्थापनमा पालिकाले सहजीकरण गरिरहेको जानकारी दिए ।
मित्रवत प्रतिस्पर्धा र आचारसंहिता
महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले तडकभडकरहित र मित्रवत प्रतिस्पर्धाका लागि राजनीतिक दलहरूलाई सचेत गराउँदै शान्तिपूर्ण वातावरण निर्माणमा पहल गरिरहेको बताए ।
निर्वाचन आचारसंहिता अनुसार जनप्रतिनिधिहरूले आफ्नो पालिकामा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा स्रोतसाधन दुरुपयोग गर्न नपाउने र प्रचारप्रसारमा खटिँदा आयोगको सहमति लिनुपर्ने व्यवस्थाको पालनामा समेत स्थानीय तहले निगरानी गरिरहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बदर मत न्यूनीकरणका लागि मतदाता शिक्षा प्रभावकारी हुनुपर्ने भन्दै यस कार्यमा सबै स्थानीय तह र सरोकारवालालाई सक्रिय रहन आग्रह गरे ।
निर्वाचनको मिति नजिकिएसँगै यतिबेला गाउँ–गाउँमा चुनावी सरगर्मी र मतदाता शिक्षा कार्यक्रमले पालिकाहरू निर्वाचनमय बनेका छन् ।
Facebook Comments