इन्जिनियर हत्या प्रकरण : सडक चक्काजाम, गृहमन्त्रीको राजीनामा माग
राजमार्गमा टायर बालेर प्रदर्शन
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १४:३०
सिरहा । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको विरोधमा बिहीबार सिरहामा तनाव सिर्जना भएको छ ।
हत्यारालाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन माग गर्दै स्थानीयले महेन्द्र राजमार्ग अन्तर्गत धनगढीमाई बजारमा चक्काजाम गरेका छन् ।
प्रदर्शनकारीहरूले सडकमा टायर बालेर यातायात अवरुद्ध पारेपछि पूर्व–पश्चिम राजमार्ग केही समयका लागि ठप्प बनेको थियो । उनीहरूले राज्यले नागरिकको जीउधनको सुरक्षा गर्न नसकेको र अपराधीको सुराकसम्म पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा समेत मागेका छन् ।
‘घटना भएको चार दिन बितिसक्दा पनि प्रहरी प्रशासन मौन रहनु दुःखद छ,’ प्रदर्शनमा उत्रिएका एक स्थानीयले भने, ‘दोषीलाई तत्काल पक्राउ नगरिए कडा आन्दोलन गर्नेछौँ ।’
प्रहरीले केही शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको र संलग्नहरूको खोजीका लागि विभिन्न टोली परिचालन गरिएको जनाएको छ । इन्जिनियर यादवको चार दिनअघि गोली हानी हत्या गरिएको थियो ।
Facebook Comments