इरानले आणविक सम्झौता नगरे खराब परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते १०:०२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई आफ्नो आणविक कार्यक्रम सम्बन्धमा १०–१५ दिनभित्र ठोस सम्झौता गर्न अल्टिमेटम दिएका छन्। नभए इरानले “धेरै खराब परिणाम” भोग्नुपर्ने चेतावनी दिइएको छ।
वासिङ्टन डिसीमा बिहीबार बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले कूटनीतिक वार्ता भए पनि अहिलेसम्म कुनै ठोस सहमति नभएको र इरानले आणविक कार्यक्रम पूर्णतया त्याग्नुपर्ने सर्त राखिएको स्पष्ट पारे।
इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको दाबी गर्दै आएको छ। मिसाइल कार्यक्रम वा अन्य देशका समूहलाई समर्थन गर्ने/नगर्ने विषयलाई आफ्नो आन्तरिक मामिला ठानेको छ। सर्वोच्च नेता आयतोल्लाह अली खामेनी ले अमेरिकी युद्धपोतलाई निशाना बनाउने चेतावनी दिइसकेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी सैन्य तयारीको विवरण प्रकाशित गरेका छन्। अमेरिकी युद्धपोत अब्राहम लिंकन एक महिनादेखि मध्यपूर्वमा तैनाथ छ भने अर्को युद्धपोत जेराल्ड फोर्ड पनि क्षेत्रमा पठाइएको छ। बी–२ बमवर्षक विमानहरू उच्च सतर्कतामा राखिएका छन् र पेन्टागनले केही कर्मचारीलाई अस्थायी रूपमा युरोप वा अमेरिकातर्फ सार्ने तयारी गरेको छ।
तनाव बढेसँगै रूसले संयम अपनाउन र द्विपक्षीय विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
Facebook Comments