एमालेको झण्डा जलाएको विषयमा रास्वपालाई २४ घण्टे स्पष्टीकरण

जवाफ दिन निर्देशन

No Author Assigned | २०८२ फागुन ९ गते ११:१७
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog_1.jpg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरेको आरोपमा आयोगले रास्वपालाई जवाफ मागेको हो ।

रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा चुनावी प्रचारप्रसारका क्रममा एमालेको झण्डा जलाएको र अध्यक्ष ओलीलाई लक्षित गरी अमर्यादित शब्दहरू प्रयोग गर्दै नाराबाजी गरेको श्रव्यदृश्य सामग्री बाहिरिएपछि आयोगले सक्रियता देखाएको हो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा रास्वपा सभापतिको नाममा स्पष्टीकरण काटिएको छ । पत्रमा भनिएको छ– ‘तुलसीपुर घटनाको यथार्थ के हो?एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन?एमाले अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन?’

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र इमेलमार्फत स्पष्टीकरण पेश गर्न रास्वपालाई निर्देशन दिएको छ । निर्वाचनको मुखमा दलहरूबीच बढ्दो विवाद र आचारसंहिता उल्लंघनका घटनालाई आयोगले कडाइका साथ निगरानी गरिरहेको पुष्टि गरेको छ ।


Facebook Comments