Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विद्यालयको ग्यास चूल्हो र भाँडाकुँडा कांग्रेसको चुनावी सभामा

स्थानीयद्वारा अवरोध

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते १२:३०
Image of https://mayorsap.com/storage/photos/shares/fff.jpg

बारा । बाराको आदर्श कोतवाल–१ स्थित श्री नेरा आधारभूत विद्यालयको सम्पत्ति राजनीतिक दलको कार्यक्रममा प्रयोग गर्न खोजिएपछि स्थानीयले विरोध जनाएका छन् ।

विद्यालयमा विद्यार्थीका लागि खाजा बनाउन प्रयोग गरिने ग्यास चूल्हो र भाँडाकुँडा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका लागि लैजाँदै गर्दा स्थानीयले बाटोमै रोकेका हुन् ।

विद्यालयका कार्यालय सहयोगीले सामान बाहिर लैजाँदै गरेको देखेपछि स्थानीयले सोधपुछ गर्दा विद्यालयकै शिक्षक नवल किशोर साहले नेताहरूलाई चिया पकाउनका लागि ती सामग्री पठाउन लगाएको खुलेको छ ।

विद्यालयका प्रधानाध्यापक सुरेश पण्डितले घटनाको पुष्टि गर्दै सार्वजनिक बिदाका कारण आफू घरमा रहेको बेला यस्तो प्रयास भएको र पछि जानकारी पाउनासाथ सामान फिर्ता गर्न लगाएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको समन्वयमा सामग्रीहरू फिर्ता गरी अहिले विद्यालयमै सुरक्षित राखिएको छ । यद्यपि, सार्वजनिक संस्थाको स्रोत–साधन राजनीतिक स्वार्थका लागि दुरुपयोग गर्न खोजिएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।


Facebook Comments