Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कर्णालीमा ४४१ मतदान केन्द्र अति संवेदनशील, हेलिकप्टरको भर

सीमा र विवादित क्षेत्रमा विशेष निगरानी

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते १२:३९
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.jfif

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ । भौगोलिक विकटता र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेशका ९४१ मतदानस्थलमध्ये ४४१ केन्द्रलाई अति संवेदनशील सूचीमा राखेर विशेष सुरक्षा रणनीति बनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन सम्पन्न गराउन १४ हजार ७१९ जना प्रहरी जनशक्ति परिचालन गरिँदैछ । जनशक्ति अभावलाई पूर्ति गर्न थप ६ सय प्रहरी केन्द्रसँग माग गरिएको प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए । प्रहरीले ३०१ केन्द्रलाई सामान्य र ६५१ केन्द्रलाई संवेदनशील सूचीमा राखेर सोहीअनुसार सुरक्षाकर्मी खटाउने तयारी गरेको छ ।

कर्णालीको भौगोलिक बनावट सुरक्षाका लागि मुख्य चुनौती देखिएको छ । विशेषगरी डोल्पाका माथिल्लो क्षेत्रमा पर्ने २३ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्याउन हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ । शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्ध जस्ता बस्तीमा सडक पहुँच नभएकाले हवाई माध्यम नै एकमात्र विकल्प रहेको जिल्ला निर्वाचन अधिकारीले बताएका छन् ।

विगतका निर्वाचनमा झडप र विवाद भएका स्थान तथा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायले विशेष निगरानी बढाएको छ । अति संवेदनशील केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेनालाई समेत परिचालन गर्ने तयारी छ । १० लाख ३७ हजारभन्दा बढी मतदाता रहेको कर्णालीमा १० वटै जिल्लाका सुरक्षा निकायले मतदानस्थलको अनुगमनलाई तीव्र पारेका छन् ।


Facebook Comments