दुई समुदायबीचको विवादले रौतहटको गौर तनावग्रस्त
गाडी र पेट्रोल पम्पमा आगजनी
मेयरसाप डेस्क
|
२०८२ फागुन ८ गते १३:००
रौतहट । तीन दिनअघि सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा रौतहटको सदरमुकाम गौर शनिबार दिनभर तनावग्रस्त बनेको छ ।
दुई समुदायबीचको झडपका कारण गौरमा तीनवटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको छ भने एउटा पेट्रोल पम्पमा समेत तोडफोड भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार, तीन दिनअघि जन्ती लिएर गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद उत्पन्न भएको थियो ।
सोही विषयलाई लिएर शुक्रबारदेखि सुरु भएको झडप शनिबार झन् हिंसात्मक बनेको हो । गौर नगरपालिका–६ स्थित सबगडा गाउँका दुई समूहबीच लगातार दुई दिनदेखि भिडन्त भइरहेको प्रहरीले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यतिबेला इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु भइरहेको सन्दर्भमा यो घटना भएको हो ।
प्रहरीले संयमता अपनाउन आग्रह गर्दै स्थितिलाई साम्य पार्ने प्रयास गरिरहेको छ, तर आक्रोशित भीडका कारण बजार र आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।
Facebook Comments