निर्वाचन सुरक्षामा प्रधानमन्त्री कार्कीको चिन्ता, सतर्क रहन निर्देशन
'निष्पक्ष निर्वाचन हाम्रो प्राथमिकता'
मेयरसाप डेस्क
|
२०८२ फागुन ८ गते १४:४९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षा र शान्ति व्यवस्थापनलाई लिएर चासो व्यक्त गरेकी छिन् ।
आसन्न फागु पूर्णिमा (होली) पर्व र हिमाली क्षेत्रमा हुनसक्ने हिमपात जस्ता प्राकृतिक चुनौतीले निर्वाचन प्रक्रियामा पार्न सक्ने प्रभावप्रति उनले चिन्ता प्रकट गरेकी हुन् ।
विशेषगरी रुकुम पूर्व जस्ता दुर्गम हिमाली जिल्लामा मौसमका कारण उत्पन्न हुन सक्ने समस्या र तराईमा राजनीतिक दलहरूबीच बढ्दो प्रतिस्पर्धाले निम्त्याउन सक्ने झडपप्रति प्रधानमन्त्रीले सुरक्षा निकायलाई सचेत गराएकी छिन् ।
विभिन्न स्थानमा दलका झण्डा जलाउने जस्ता उच्छृङ्खल गतिविधि रिपोर्ट भएको उल्लेख गर्दै उनले यस्ता घटनाले चुनावी वातावरण बिथोल्न सक्ने भन्दै पूर्वतयारीमा जोड दिइन् ।
निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले उनीहरूको प्रभाव कमजोर रहेको तर बहिष्कारको आवरणमा चन्दा असुली र आर्थिक चलखेल गर्ने प्रवृत्ति देखिएको बताइन् ।
‘कतिपयले पार्टीको अस्तित्व देखाउन वा पैसा असुलीका लागि मात्र बहिष्कारको नाम लिने गरेका छन्, यस्ता गतिविधिप्रति सतर्क रहनुपर्छ,’ उनले भनिन् ।
निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उनले सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन समेत दिएकी छिन् ।
Facebook Comments