पूर्वराजा लक्षित प्रचण्डले भने– जनताबाट फ्याँकिएकाले चुनावबारे भ्रम छरे
प्रतिगामीको पछि नलागौँ
मेयरसाप डेस्क
|
२०८२ फागुन ८ गते १६:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो राजनीतिक टिप्पणीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वराजाको नाम नलिई जनताबाट फ्याँकिएका मानिसको संज्ञा दिएका हुन् ।
देशको समस्या समाधान नगरी गरिने निर्वाचनले निकास नदिने भन्ने पूर्वराजा शाहको भनाइको खण्डन गर्दै प्रचण्डले भने, ‘हिजो जनताले अस्विकार गरेका केही व्यक्तिहरूले अहिले चुनाव हुँदैन वा हुनुहुँदैन भन्दै भ्रम फैलाइरहेका छन्। यस्ता प्रतिगामी कुराको पछि नलागी दृढतापूर्वक निर्वाचनमा होमिन म सबैमा अपिल गर्छु ।’
प्रचण्डले मुलुकको वर्तमान संकट समाधानका लागि निर्वाचन नै एकमात्र विकल्प भएको दोहोर्याउँदै प्रतिक्रियावादीहरूको चलखेलले कुनै अर्थ नराख्ने दाबी गरे ।
चुनावी अभियानको उत्साहले आफ्नो पार्टी पहिलो बन्ने आधार तय भइसकेको जिकिर गर्दै उनले नयाँ शक्तिहरूको उदयलाई ‘क्षणिक हावाहुरी’को संज्ञा दिए ।
जनताले नयाँ भनिएकाहरूको वास्तविकता बुझिसकेकाले अबको निकास आफ्नै पार्टीको नेतृत्वमा मात्र सम्भव रहेको उनको दाबी थियो ।
Facebook Comments