गौर तनावपछि गृहमा आकस्मिक बैठक, गृहमन्त्रीले दिए निर्देशन
केन्द्रीय सुरक्षा समितिको बैठक
मेयरसाप डेस्क
|
२०८२ फागुन ८ गते १७:५९
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न तनावले उग्र रूप लिएपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा जारी बैठकमा विशेष गरी मधेश–तराईमा देखिएको जातीय र धार्मिक विवादका साथै आसन्न निर्वाचनमा पर्न सक्ने सुरक्षा चुनौतीबारे गहन छलफल भइरहेको छ ।
गौर नगरपालिका–६ मा दुई पक्षबीचको झडपले सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि र स्थिति नियन्त्रण बाहिर जान लागेपछि गृहमन्त्री अर्यालले चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूलाई बोलाएर परिस्थितिको समीक्षा गरेका हुन् ।
बैठकमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूले हालको तनावलाई साम्य पार्दै निर्वाचनका लागि शान्तिपूर्ण वातावरण तयार गर्ने रणनीतिबारे विमर्श गरिरहेका छन् ।
पछिल्लो समय तराईमा देखिएको साम्प्रदायिक संवेदनशीलता र निर्वाचन लक्षित उच्छृङ्खल गतिविधिप्रति उच्च सतर्कता अपनाउन मन्त्रालयले सुरक्षा संयन्त्रलाई निर्देशन समेत दिएको छ ।
Facebook Comments