उपयुक्त समयमा संसद् आउँछु : प्रधानमन्त्री शाह

जवाफ दिने प्रतिबद्धता

User Image मेयरसाप डेस्क | २०८३ जेठ ४ गते १९:०३
Image of https://mayorsap.com/storage/photos/shares/balen-new-f8a9dd1c.jpg

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यक र उपयुक्त समयमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले लगातार संसद्मा दबाब बढाइरहेका छन् । यही विषयलाई लिएर विपक्षी सांसदहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्न थालेपछि सभामुख अर्याल बिहीबार प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगेका थिए ।

सभामुखसँगको भेटमा प्रधानमन्त्री बालेनले उपयुक्त समयमा संसद्मा आएर सांसदहरूको जवाफ दिने प्रतिबद्धता व्यक्त गरेको सभामुख अर्यालले समितिका सदस्यहरूलाई जानकारी दिएका हुन् ।

यसअघि पनि प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले संसद्मा नाराबाजी गर्दै आएका छन् । बिहीबारको बैठकमा समेत विपक्षीको विरोध जारी रहे पनि सभामुख अर्यालले संसद्का कामकारबाहीलाई निरन्तरता दिएका थिए ।


Facebook Comments