प्रधानमन्त्री नआए पनि दबाब छैन : रवि लामिछाने
परिणाम देखिने दाबी
मेयरसाप डेस्क
|
२०८३ जेठ ४ गते १९:१४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद्मा उपस्थित नभएकै कारण आफू कुनै दबाबमा नरहेको बताएका छन् ।
आफू प्रभाव वा दबाबमा चल्ने व्यक्ति नभएको स्पष्ट पार्दै उनले सरकारको कामको परिणाम नै आफ्नो प्राथमिक चिन्ता भएको बताएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीको अनुपस्थितिबारे उठाइएको प्रश्नको जवाफ दिएका थिए ।
सञ्चारकर्मीले ‘प्रधानमन्त्री संसद्मा नआएकै कारण दबाबमा पर्नुभएको हो ?’ भनेर सोध्दा उनले भने, “छैन, छैन । म त्यस्तो दबाबमा बस्ने मान्छे होइन । मलाई कुनै कुराको दबाब छैन । कहिलेकाहीँ प्रक्रिया आफ्नै ढंगले अघि बढिरहेका हुन्छन् ।”
उनले सरकारको काम प्रभावकारी नभएको अवस्था आए मात्र आफूलाई दबाब महसुस हुने बताए । सरकार अहिले काम गरिरहेको र त्यसको परिणाम क्रमशः देखिने दाबी पनि उनले गरे ।
प्रधानमन्त्री चाँडै संसद्मा आउने र सांसदहरूको प्रश्नको जवाफ दिने दाबी पनि लामिछानेले गरे । “आउनुहुन्छ । देखिइरहनुभएको छ । थाहा पाइहाल्नुहुन्छ नि,” उनले प्रतिक्रिया दिए ।
यसैबीच उनले पार्टी महाधिवेशनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । महाधिवेशनमार्फत पार्टीलाई थप व्यवस्थित र सुदृढ ढंगले अघि बढाउने योजना रहेको उल्लेख गर्दै उनले विधानअनुसार निर्धारित समयमै काम भइरहेको बताए ।
Facebook Comments