Ad Image

मकैसिङ स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतमाथि कुटपिट, स्वास्थ्यकर्मीहरूको सेवा बन्द

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726570152.jpeg

गोरखा । गाेरखाकाे गण्डकी गाउँपालिका-१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलीपकुमार कुशवाहमाथि कुटपिट र दुर्व्यवहार भएको छ। बिरामी जाँचिरहेका बेला टिकटको विषयलाई लिएर पूर्ववडाध्यक्ष देउबहादुर गुरुङको नेतृत्वमा रहेको समूहले आक्रमण गरेको कुशवाहले बताए।

 

कुशवाहले घटनाको विवरण दिँदै भने, ‘बिरामी जाँच्दै गर्दा शिविरको शुल्कबारे विवाद भइरहेको थियो। म बाहिर आएर कुरा राख्दा झगडा बढ्यो, र वाइकमा चढ्न लागेको बेला अचानक एक व्यक्तिले मुक्का प्रहार गरे।’ प्रहरी, गाउँपालिका अध्यक्ष, र अन्य स्थानीय पदाधिकारीहरूबीच सोमबार छलफल भए पनि कुशवाहलाई माफी माग्न बाध्य बनाइएको उनले बताए। पूर्ववडाध्यक्ष गुरुङले भने डाक्टरले पहिले हातपात गरेको आरोप लगाए।

 

आक्रमणपछि कुशवाहको दाहिने हात, नाक, र कानमा चोट लागेको छ। घटनाको विरोधमा स्वास्थ्यकर्मीहरूले सेवा प्रवाह बन्द गरेका छन्। विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूले आक्रमणबाट असुरक्षित महसुस गरेको र सेवा सुचारु गर्न सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताएका छन्।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीका अनुसार घटनाको समाधानका लागि प्रयास भइरहेको छ, र दुवै पक्षले हातपात गरेको पाइएको छ।