पहिरोको जोखिममा विद्यालय, विद्यार्थी अन्योलमा
बाजुराको बडीमालिका नगरपालिका–७ स्थित लक्ष्मी माविका विद्यार्थीहरु पहिरोको जोखिमका कारण अन्योलमा परेका छन्। बर्खाको समयमा विद्यालय वरिपरि लगातार पहिरो जान थालेपछि विद्यार्थीहरु विद्यालय जानु सुरक्षित हो कि होइन भन्ने द्विविधामा छन्।
Mayorsap
शुक्र, असोज ४, २०८१ | १३:१५ बजे
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ स्थित लक्ष्मी माविका विद्यार्थीहरु पहिरोको जोखिमका कारण अन्योलमा परेका छन्। बर्खाको समयमा विद्यालय वरिपरि लगातार पहिरो जान थालेपछि विद्यार्थीहरु विद्यालय जानु सुरक्षित हो कि होइन भन्ने द्विविधामा छन्।
कक्षा १० की छात्रा रमिला विकले विद्यालय जाने कि नजाने भन्ने डरमा रहेको बताइन्। “पढ्न जानु आवश्यक छ, तर पहिरोले विद्यालयमा नै ज्यान जाने डर छ,” उनले भनिन्। विद्यालय आसपासको पहिरोले भवनलाई जोखिममा पारेको छ, तर विद्यालय सञ्चालन भने जारी रहेको छ।
२०७८ सालमा विद्यालय नजिकै मार्तडी–कोल्टी सडक मर्मतका क्रममा डोजरले क्षति पु¥याएपछि पहिरो सुरु भएको प्रधानाध्यापक लालचन्द्र जैसीले जानकारी दिए। विद्यालयलाई सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायहरूसँग निरन्तर कुरा राखिए पनि सुनुवाइ नभएको उनले गुनासो गरे।
विद्यालयको स्थानान्तरणका लागि प्रहरीद्वारा मुचुल्का तयार गराइ नगरमा पठाउने प्रक्रिया भइरहेको बडीमालिका नगरप्रमुख अम्मर खड्काले बताए। विद्यालयको कमजोर आर्थिक अवस्था र पहिरोको जोखिमका कारण तत्कालै सार्न नसकिएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ।