Ad Image

चन्द्रागिरि नगरपालिकाले दियो बालश्रममुक्त वडा घोषणा अभियानलाई तीव्रता

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726919916.jpg

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना वडाहरूलाई धमाधम बालश्रममुक्त बनाउँदैछ।
चालू आर्थिक वर्षभित्र सम्पूर्ण वडालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्य राखिएको छ। 



‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट, वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ। 



नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ लागू गरेको छ। यस अभियानको क्रममा शनिबार चन्द्रागिरि–१० सतुंगललाई बालश्रममुक्त वडा घोषणा गरियो। हालसम्म १५ मध्ये ८ वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ। 
 


चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बालश्रम निवारणलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, घोषणापछि यसको दीगो कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनका अनुसार, २०८१ चैतसम्ममा नगरका सबै वडाहरू बालश्रममुक्त घोषणा भइसकेका हुनेछन्। 

बालश्रममुक्त घोषणाअघि बाजागाजासहित र्‍याली निकालिएको थियो, जसले स्थानीयहरूको ठूलो सहभागिता पाएको थियो।