मेलौली भगवती मन्दिरमा धर्मशाला निर्माण, धार्मिक पर्यटकलाई सुविधा
मेलौली नगरपालिका–१ मा रहेको मेलौली भगवती मन्दिरमा आउने धार्मिक पर्यटकको बसोबास र अन्य सुविधाका लागि १० कोठाको दुईतले धर्मशाला निर्माण सम्पन्न भएको छ।
Mayorsap
आइत, असोज ६, २०८१ | १४:१६ बजे
बैतडी । मेलौली नगरपालिका–१ मा रहेको मेलौली भगवती मन्दिरमा आउने धार्मिक पर्यटकको बसोबास र अन्य सुविधाका लागि १० कोठाको दुईतले धर्मशाला निर्माण सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मेलौली नगरपालिकाको संयुक्त लगानीमा बनेको यो धर्मशालाले पर्यटकलाई खान, बस्न, र भजनकीर्तन गर्न सहज बनाएको छ।
धर्मशालामा दुई सय मानिस अट्ने सभा हल, शयनकक्ष, अतिथिगृह, स्नानकक्ष, भान्साघर, र सार्वजनिक शौचालयसहितका सुविधाहरू रहेका छन्। साथै, मन्दिर परिसरमा पार्किङ र व्यापारिक प्रयोजनका लागि दुई वटा सटर पनि निर्माण गरिएको छ।
धर्मशाला निर्माणमा मेलौली नगरपालिकाले दुई करोड ४५ लाख रुपियाँ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख रुपियाँ लगानी गरेको थियो। यो परियोजना २०७७ सालमा सुरु भएको भए पनि प्रवेशद्वारको रङरोगन र पर्खालको काम अझै बाँकी रहेको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । उनका अनुसार धर्मशालामा पर्यटक बस्न सुरु भइसकेको छ, र बाँकी संरचनाको काम पनि यसै वर्षभित्र पूरा गर्ने योजना छ।
मेलौली भगवती मन्दिरको प्रमुख धार्मिक महोत्सव कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमामा मनाइन्छ, जसमा भारतको उत्तराखण्ड राज्यबाट समेत हजारौँ भक्तजन उपस्थित हुने गरेका छन्।