काठमाडौं महानगरद्धारा १३० पसलमा अनुगमन
काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले असोज १० गतेदेखि २० गतेसम्म १० दिनको अवधिमा १३० वटा पसलहरूको अनुगमन सम्पन्न गरेको छ । बागबजार,पुतलीसडक,कालीमाटी,सोल्टीमोड,महाराजगञ्ज,असन,जमल हात्तीसार,नक्साल,विशालनगर,हाँडीगाउँ,चावहिल,मैजुवहाल,कुमारीगाल लगायतका विभिन्न स्थानमा गरिएको अनुगमनमा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादनहरू फेला परेका छन् ।
विवेक मण्डल
मंगल, असोज २२, २०८१ | १४:०४ बजे
काठमाडौँ
असोज २२ गते,
काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले असोज १० गतेदेखि २० गतेसम्म १० दिनको अवधिमा १३० वटा पसलहरूको अनुगमन सम्पन्न गरेको छ । बागबजार,पुतलीसडक,कालीमाटी,सोल्टीमोड,महाराजगञ्ज,असन,जमल हात्तीसार,नक्साल,विशालनगर,हाँडीगाउँ,चावहिल,मैजुवहाल,कुमारीगाल लगायतका विभिन्न स्थानमा गरिएको अनुगमनमा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादनहरू फेला परेका छन् ।
महानगरका अनुसार अनुगमनका क्रममा ८२ वटा पसलमा स्पष्ट रूपमा मूल्य सूची राखिएको थिएन । ती पसलहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ । त्यस्तै,६२ वटा पसलहरू व्यवसाय दर्ता नगरेको पाइएको छ । ती पसलहरुलाई ७ दिनभित्र दर्ता गराउन समय दिइएको छ ।
चाडपर्वको समयमा फलफूल,माछामासु,दूध तथा दुग्ध पदार्थको प्रयोग बढी हुने भएकाले ठगी तथा गुणस्तरसम्बन्धी समस्या देखिन सक्ने खतरा हुन्छ । अनुगमनको क्रममा मूल्य सूची नराख्ने,खरिद बिक्री बिलको अभाव,म्याद गुज्रिएका उत्पादनहरू राख्ने स्थानको व्यवस्था नगर्ने,र व्यवसाय दर्ता नगर्ने जस्ता समस्या प्रायः भेटिएका हुन्छन् ।
विशेष गरी प्याकेजिङ गरिएका जुस,बिस्कुट,चकलेट,अचार,मसला,भिनेगर,केचअप,जाम जस्ता खाद्य तथा पेय पदार्थहरूको म्याद सकिएको अवस्थामा फेला परेको छ । यी समस्याहरूलाई समाधान गर्न विक्रीमा रहेका सामानको मूल्य,उत्पादन मिति,म्याद सकिने मिति,र अधिकतम मूल्यलाई ध्यान दिइन्छ ।
पसलहरूमा म्याद गुज्रिएका सामानहरूको व्यवस्थापन,विक्री कक्षको प्रबन्ध,खरिद तथा विक्री बिलको प्रयोग,व्यवसाय दर्ता र नविकरणजस्ता सूचकहरूलाई आधार मानेर अनुगमन गरिन्छ । यस अनुगमनको उद्देश्य अनुचित व्यापारिक क्रियाकलापलाई रोक्न र स्वच्छ बजार सुनिश्चित गर्न तथा सचेतना अभिवृद्धि गर्ने रहेको महनगरले जनाएको छ ।