धवलागिरि गाउँपालिकामा शिशु स्वागत घर स्थापना
स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रूपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीहरूलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो ।
Mayorsap,विवेक मण्डल
शनि, कार्तिक ३, २०८१ | १९:३३ बजे
काठमाडौँ
कार्तिक ३ गते,
म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा शिशु स्वागत घर स्थापना भएको छ ।
स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रूपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीहरूलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिइन् ।
‘सुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक/एक वटा कोठामा शिशु स्वागत घर बनाएका छौं,’उनले भनिन् ‘बेड,विस्तारा,भाँडाकुँडा र सरसफाइका सामग्री,ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ।’
सात वटा वडाका स्वास्थ्य चौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट सामग्री खरिद गरिएको थियो ।
धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पुरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवतीहरू घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने बाध्यता छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा धवलागिरिमा ९१ जना सुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुत्केरी भएका हुन् । जोखिम मोलेर घरमै सुत्केरी हुने अवस्था अन्त्य गरी मातृ शिशु मृत्युदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतीहरूलाई जटिलता भएमा समयमै अस्पताल पुर्याउनका लागि समन्वय गर्न पनि सहज हुने उनले बताए । धवलागिरिका सात वटै स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ ।
सुरक्षित प्रस्तुति सेवामा पहुँच बढाउनका लागि सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रम मार्फत स्वास्थ्य संस्थामा तोकिएको मितिमा गर्भजाँच गराउने र सुरक्षित प्रसूति सेवा लिनेलाई कुखुरा,अण्डा,पोषिला खानेकुरा उपहार दिने गरिएको उपाध्यक्ष रेशम पुन मगरले बताए ।