बागवानीमा स्नातकोत्तर पढ्दै, चीतवनमा फूल खेती गर्दै सुनिलको टिमले हङकङबाट भित्र्याउँदैछन् डलर
आरसी
बुध, कार्तिक १४, २०८१ | १४:१४ बजे
चितवन, कात्तिक १४ः कृषि क्षेत्रमा अध्ययन गरिरहेका तीनजना साथीहरुले लमजुङमा बसेर पढ्दै गर्दा नेपालमै केही गर्ने योजना बनाउँछन् ।
योजना बनाउनेहरुमा ‘क्लासमेट’ सुनिल भण्डारी, सन्दिप रसाइली र साजन थापा रहेका थिए । सँगैका साथीहरु कुन देश जाने भन्ने तयारीमा रहेका बेला सुनिल, सन्दिप, साजनहरु भने नेपालमा के गर्न सकिएला भनेर दिमाग ख्याउँदै थिए । साथमा अलि जुनियर क्षितिज रानाभाट पनि जोडिए । क्षितिज पढाइमा तीनजनाभन्दा जुनियर हुन् ।
चारजना साथीहरु मिलेर फूल खेती गर्ने योजना बनाउँछन् । अनि चितवनको शुक्रनगरबाट फूल खेतीको सुरुवात गर्ने निचोड निकाल्छन् । उनीहरुकैै जग्गा शुक्रनगरमा भएकाले थोरै जग्गामा फूल लगाएर उनीहरुले व्यवसायको सुरुवात गर्छन । फूल खेती गर्न चाहिँने बीउ र मल किन्न उनीहरुले नै ७० हजारजति जम्मा गर्छन् । त्यही पैसाबाट फूल खेती थालेका सुनिललगायतको टिमले नाफा हुने थाहा पाएपछि अहिले ८ लाख लगानी गरेर फूल उत्पादन गरिहेका छन् ।
हुन् त नेपालमै केही गर्ने योजना बनाएर फूल खेतीमा होमिएका चारै जना अहिले एकै ठाउँमा भने छैनन् । विदेश पलायन हुने ट्रेण्डले दुईजना साथीहरुलाई विदेश पलायन हुन लोभ्याइसकेको छ । साजन थापा त अष्ट्रेलिया पुगिसकेका छन् । क्षितिज जाने तरखरमा छ । साथीहरु छुटेर गए पनि सुनिल भण्डारी र सन्दिप रसाइली भने अझै नेपालमै भविष्य कोर्न संघर्षरत छन् । उनीहरुलाई अहिले अलि हौसला पनि मिलेको छ ।
सरकारबाट भने होइन । उनीहरुले आफूले गरेको फूल व्यवसायलाई हङकङसम्म निर्यात गर्न सकेकाले उत्पादन खेर जाने पीडा कम छ । उता व्यवसाय अलि विस्तार हुँदा उत्पादनमा पनि वृद्धि गरेका छन् । त्यसो त उनीहरुले २ जनालाई नियमितजसो रोजगारी पनि दिएका छन् । दसैँ आसपासदेखि तिहारको अन्त्यसम्मको एक महिना थप तीस जनाले रोजगारी पाएका छन् । अहिले उनीहरुले फूल खेती गर्न थालेको तीन वर्ष भयो ।
दुईजना साथी टिमबाट छुटे पनि सन्दिप रसाइली र सुनिल भण्डारी भने मिलेर काम गरिरहेका छन् । उनीहरु बागवानीमै स्नातकोत्तर अध्ययन पनि गरिरहेका छन् । उनीहरुले अघिल्लो साल ८ कठ्ठामा फूल खेती गरेका थिए । पोहोर नै उनीहरुले फूलको निर्यात हङकङ गर्न सफल भए । उनीहरुलाई हौसला मिल्यो । यो पटक उनीहरुले २२ कठ्ठामा फूल खेती गरे । त्रिविको कृषि तथा पशु विज्ञान शाखा अन्तर्गत बागवानीमा स्नातकोत्तर गरिरहेका दुईजना युवा विद्यार्थी अहिले तरिकारी पनि हङकङ निर्यातको तयारीमा जुटेका छन् । दुई महिना भयो, उनीहरुले तरकारी हङकङ पठाउन सुरु गरेको।
यसवर्ष सुनिल र सन्दिपले सात हजार माला हङकङ पठाए । फूलको गुच्छा बनाएर लगभग २५–२६ सय फूलका गुच्छा पनि उतै पठाए । साथमा एक क्वीन्टल खुल्ला फूल पनि हङकङ निर्यात भयो । यसवर्ष फूल टिप्ने, माला बनाउने काममा एक महिनाका लागि भए पनि ३० जनाले रोजगारी पाए ।
जुनसुकै व्यवसाय गर्नलाई पनि बजारको व्यवस्था राम्रो हुनुपर्ने सुनिलको बुझाई छ । उनी भन्छन्, ‘फूल खेती गर्नलाई मुख्यकुरा त बजारमै ध्यान दिन जरुरी छ । त्यसपछि बीउ छनौटका कुराहरु । हामीले अलि महंगै खालको जात लगाएका हौं ।’
फूल खेती गर्न पनि सजिलो भने छैन । राम्रो फूलको बीउ नै नेपालमा पाइँदैन । थाइल्याण्डबाट ल्याएको फूलको बीउ किन्नुपर्छ । त्यही भएर अलि महंगो पनि पर्छ । मल भने गाउँघरकै प्रयोग हुन्छ । सुनिलले हामीसँग भने, ‘मल गाउँघरमै पाइने गोबर तथा सुली हो । अरु स्प्रे गरेर दिनुपर्छ । थाइल्याण्डबाट आउने हाइब्रीड जातको बीउ धेरै पुष्प कृषकहरुले लगाउने गर्नुहुन्छ । हामीले पनि त्यही लगाउने गरेका छौं ।’
राम्रो र गुणस्तरको उत्पादन दिँदा बजारको समस्या अलि नहुने अनुभव सुनिल र सन्दिपले पाइसके । उनीहरुले उत्पादन गरेको फूल आकर्षक र राम्रो भएकै कारण हङकङमा रुचाइएको छ । निर्यातको मात्रा पनि अघिल्लो सालको भन्दा बढेको छ । ‘हामीले क्वालीटी उत्पादन गर्न सक्यौं भने यहाँको उत्पादन बाहिर बेचेर नाफा कमाउने सम्भावना धेरै छ’, कृषि व्यवसायमा सम्भावनाको खोजी गरिरहेका सुनिलले हामीसँगको फोन सम्वादमा भने, ‘हामीले तरकारी पनि बाहिर पठाउन सुरु गरेका छौं । एक सहकारीसँग मिलेर अकबरे खोर्सानीको खेती गरेका थियौं । बाहिरी मागलाई हामीले अवसरको रुपमा लिएर काम गरिरहेका छौं । अहिलेसम्म गज्जव नै त भएको छैन । तर नराम्रो पनि छैन ।’
उनीहरुले गोरखामा कृषकहरुलाई खेती गर्न लगाएर खुर्सानीको निर्यात हङकङ गर्न थालेका छन् । प्राविधिक सहयोग भने उनीहरुले नै गरिदिन्छन् । कस्तो बीउ लगाउने, कुन बेला कसरी मल दिने, गोडमेल कसरी गर्ने, कस्तो माटोमा रोप्नेजस्ता विषयमा ज्ञान दिएपछि कृषकहरुले पनि उत्पादन बढाएका छन् । उता बजारको सुनिश्चितता गरिदिएपछि त कृषकलाई झनै फाइदा भएको छ ।
‘हामीले प्रविधिक सहजिकरणका साथै बजारको व्यवस्थापनि पनि गरिरहेका छौं’, सुनिलले भने, ‘ अहिले हरेक हप्ता ५० किलो अकबरे खोर्सानी हङकङ गइरहेको छ । आलु करेला पनि निर्यात भइरहेको छ । यो सुरुवात मात्रै हो । दुई महिना भयो तरकारी जान थालेको ।’
उनीहरु समय मिलाएर पढाइ र काम दुवैमा सफल हुँदै गइरहेका छन् । गोरखाका किसानलाई अकबरे खुर्सानी बेचेर उनीहरुले तीन लाख रुपैयाँ पठाइसके ।
हङकङको माग र मूल्य निश्चित हुँदा त्यहाँबाट उनीहरुलाई नाफा नै भइरहेको छ । तर नेपालको बजार निश्चित खालको छैन । उनीहरुलाई बाँकी रहेको फूल नेपालमा बिक्री हुने हो वा होइन भन्ने चाहिँ चिन्ता छ । ‘नेपालमा कस्तो बजार हुन्छ ?’, सुनिल भन्छन्, ‘समग्रमा फूलमा फाइदै छ । भएको फूल बिक्री भए गज्जव नै हुन्छ ।’ उनीहरुले काठमाडौंबाटै उपभोक्ताहरुलाई फूलका माला, फूलका थुंगाहरु उपलब्ध गारउँदै आएका छन् । उनीहरुको फूलका माला तपाईँहरुलाई पनि किन्न मन भए सुनिल भण्डारीलाई ९७०४५१७६२४ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
सुनिलको टिम अहिले सहकारीसँगको सहकार्यमा तरकारी खेती र व्यापारमा अगाडि बढेको छन् । उनीहरु समग्रमा किसानहरुको समस्या बुझ्दैछन् । आम उपभोक्ताबारे पनि जानकारी बटुल्दैछन् । सरकारी निकायमा भने उनीहरुको पहुँच पनि छैन । पहुँच बनाउन सजिलो भएजस्तो पनि उनीहरुलाई लाग्दैन् ।
कागजमा मिलाएर सरकारी सेवा सुविधा दिनेभन्दा वास्तविक कृषकलाई सरकारी निकायले सेवा सुविधा दिनुपर्ने तर्क सुनिलको छ । सुनिल भन्छन्, ‘सरकारी निकायमा हामी कहीँ कतै सहभागी भएका छैन । बरु हाम्रो फूल किन्ने व्यक्तिले एडभान्समा पैसा दिएर हामीले व्यवसाय गर्न सम्भव भएको हो । सरकारले कागज मिलाउनेलाई मात्रै सेवासुविधा दिनु राम्रो होइन । अहिले पनि त्यही समस्या रहेको छ । किसानको बास्तविक परिचयलाई सरकारले बुझ्नुपर्छ ।’
उनी सरकारी निकायलाई उत्पादनको आधारमा किसानलाई अनुदान दिन अनुरोध गर्छन् । थाहा छैन् सुनिलहरु नेपालमा कहिलेसम्म टिक्छन् । तर उनी आफैँ दौँतरी समूहका साथीहरुलाई चाहिँ नयाँ नयाँ कन्सेप्टहरु ल्याएर नेपालमै सम्भावना खौज्न अनुरोध गर्छन ।