मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

बैंङ्किङ कारोबार अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

Mayorsap

बिही, कार्तिक १५, २०८१ | १२:२७ बजे

कञ्चनपुर, १५ कात्तिकः शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ ।     

दसैँमा भत्ता नपाएका उहाँहरुलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम उपलव्ध गराएको हो ।     
     
 वडा कार्यालयमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ताको रकम ज्येष्ठ नागरिकले टाढाको बैङ्क पुगेर बुझ्नु परेको गुनासो गर्नुभएको छ । शुक्लाफाँटा–८ का ८० वर्षीय विरु साउदले बैङ्कमा लाइनमा बसेर भत्ताको रकम बुझ्नु परेको गुनासो गर्नुभयो ।     

“तीन सय रुपैंया अटो भाडा तिरेर बैङ्कमा पुग्यौँ,” उहाँले भन्नुभयो, “निकै भीड हँुदा लाइनमा बस्नु प¥यो, यसअघि वडा कार्यालयमा लाइनमा नबसीकनै भत्ताको रकम पाइन्थ्यो, अहिले निकै अप्ठेरो भयो ।” भत्ताको रकम बुझ्नका लागि अटो भाडा छिमेकीसँग सापटी मागेर बैङ्कसम्म पुग्नुभएका ८५ वर्षीय शेरबहादुर साउदले ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवा दिनुपर्नेमा उल्टो सास्ती दिने कार्य गरिएको बताउनुभयो ।     
     
 “घरदैलोमै सेवा दिन्छौँ भन्थे, ज्येष्ठ नागरिकलाई सम्मान गर्छौं भन्थे”, उहाँले भन्नुभयो, “केही वर्ष वडामै भत्ता बुझ्ने व्यवस्था गरे पनि एका एक अहिले चाडपर्वका बेला तीन सय बढी भाडा तिरेर भत्ता बुझ्न बाध्य पारे ।” सबैभन्दा बढी सास्ती भत्ता बुझ्नका लागि अपाङ्गता भएका व्यक्तिहरुले खेप्नु परेको छ । ह्विल चेयरमा समेत बस्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई घरका सदस्यहरुले बोकेर भत्ता बुझ्नका लागि बैङ्कसम्म पु¥याएका छन् ।    
     
 वडामा पुगेर भत्ताको रकम नदिने भएपछि बोकेर बैङ्कसम्म ल्याउनु परेको अपाङ्गता भएका व्यक्तिहरुको भनाइ थियो । नगरपालिका–११ मा भने बैङ्कले टोलटोलमा पुगेर भत्ताको रकम वितरण गरे पनि अन्य वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले बैङ्कसम्म नै धाउनु परेको थियो । पूर्वनगर प्रमुख दिलबहादुर ऐरले मानवीय दृष्टिले पनि ज्येष्ठ नागरिकलाई घर दैलोमै सेवा पु¥याउनुपर्ने बताउनुभयो ।     
     
 ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवासुविधा दिनुपर्ने भए पनि उल्टै सास्ती दिने कार्य क्षमायोग्य नरहेको उहाँको भनाइ छ । आफ्नो कार्यकालमा वडा वडा र टोलटोलमा पुगेर भत्ताको रकम दिने कार्य गरिएको उल्लेख गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिकलाई टाढाको बैङ्कसम्म पु¥याउने कार्य न्यायोचित नभएको बताउनुभयो । नगरपालिकाका १२ वटै वडामा दुईवटा बैङ्कमार्फत सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम वितरणको कार्य हँुदै आएको थियो ।     
     
 हाल त्यही कार्य गर्ने जिम्मा नगरपालिकाले सम्झौता गरी नौवटा बैङ्कलाई दिएको छ । जनशक्तिको अभावमा बैङ्कले वडामा पुगेर भत्ताको रकम दिन नसकिने बताएपछि ज्येष्ठ नागरिकले बैङ्कसम्म पुग्नु परेको नगरपालिकाका जनप्रतिनिधिहरुको भनाइ छ ।     
     
 नगरपालिकाबाट ज्येष्ठ नागरिक (अन्य) दुई हजार छ सय २९, ज्येष्ठ नागरिक (दलित) तीन सय १६, एकल महिला तीन सय ३२, विधवा नौ सय ८४, पूर्ण अपाङ्गता एक सय २३, अति अशक्त अपाङ्गता दुई सय ६२, दलित बालबालिका पाँच सय २९ गरी पाँच हजार दुई सय ४५ जनाले भत्ताको रकम बुझ्दै आएका छन् ।     

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology