अनियमितता मुद्दामा भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई सफाइ
विशेष अदालतले भने अख्तियारका तर्फबाट प्रस्तुत प्रमाण र दाबी पर्याप्त नभएको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिने निर्णय गरेको हो ।
Mayorsap
मंगल, कार्तिक २७, २०८१ | ०७:४६ बजे
काठमाडौँ
कार्तिक २७ गते,
सुर्खेतको भेरीगंगा नगरपालिकामा अनियमितता आरोपमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई सफाइको निर्णय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६/७७ मा भेरी नदी र गोछेखोलामा नदीजन्य पदार्थको उत्खनन्,संकलन र बिक्री वितरणमा अनियमितता भएको दाबी गर्दै यही १३ जेठमा मुद्दा दायर गरेको थियो । अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, लेखा अधिकृत मानबहादुर ठाडा र इन्जिनियर विजयकुमार खत्रीसहित अन्य १० जना कर्मचारी तथा ठेकेदारहरूलाई प्रतिवादी बनाइएको थियो ।
अख्तियारको अभियोग पत्रमा ठेक्का प्रक्रियामा बदनियतपूर्ण मिलेमतो गरी कबोल मूल्य घटाउने,सम्झौता नगर्ने फर्महरूलाई कालोसूचीमा नराख्ने,र खरिद प्रक्रियामा तोकिएको ऐन तथा नियमावलीको अल्लंघन गरेको आरोप थियो । यसबाट सरकारलाई ३६ लाख ७८ हजार रुपैयाँभन्दा बढीको नोक्सान भएको बताइएको थियो ।
विशेष अदालतले भने अख्तियारका तर्फबाट प्रस्तुत प्रमाण र दाबी पर्याप्त नभएको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिने निर्णय गरेको हो ।