सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो, सबैभन्दा थोरै बाजुरामा
सबैभन्दा धेरै बझाङमा १ हजार ५५४ मध्ये १ हजार १७८ जनाले मतदान गरेका छन्
Mayorsap
आइत, मंसिर १६, २०८१ | १९:०६ बजे
धनगढी । स्थानीय तह उपनिर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा करिब ५७ प्रतिशत मत खसेको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारीका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ७ हजार ४४० मतदाता रहेकोमा ३ हजार ९०३ जनाले मतदान गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२ मतदान गरेका छन् । दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २७२ मतदाता रहेकोमा ८७७ मत खसेको छ ।
डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा १ हजार ५९३ मध्ये ८३९ मत खसेको छ । भने, बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १७८ जनाले मतदान गरेका छन् । जुन सबैभन्दा बढी ७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आज सुदूरपश्चिममा भएको निर्वाचनमा १७ हजार ३१३ मतदाता मध्ये ९ हजार ७८८ जनाले मतदान गरेका गरेका हुन् । कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र थोरै बाजुरामा मत खसेको छ ।