एनपीएलः काठमाडौंलाई हराउँदै चितवनको विजयी शुरुवात
Mayorsap
सोम, मंसिर १७, २०८१ | १२:३३ बजे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै चितवन राइनोजले विजयी शुरुवात गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो खेलमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै ११४ रन बनाएर पुरा गर्यो ।
चितवनका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८, लुक मार्टिन बेनकेन्स्टाइनले २२, ओपनर हसन इसाखिलले १२, कप्तान कुशल मल्ल, रवि बोहराले समान ११ र सरद भेषवाकरले अविजित ११ रन जोडे ।
काठमाडौंका लागि सहाब आलमले ३, गेर्हार्ड इरास्मस र डेनियल डथवेटले समान १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।
काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९, ओपनर माइकल लेभिटले २५, डान डाउथवेटले अविजित १९ र शंकर रानाले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
काठमाडौंलाई कम रनमा समेट्नका लागि चितवनका पाकिस्तानी तीव्र गतिका बलर सोहेल तन्वीरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर रौउटेला र लुक बेन्केन्स्टेइनले समान १-१ विकेट लिएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी लिगको यो दोश्रो खेल हो । काठमाडौं र चितवन दुवै टोलीले आज खेल खेलेका हुन् । चितवनले जितसँगै पहिलो खेलबाट २ अंक जोडेको छ ।