परशुराम नगरपालिकामा ‘पहिलो मेयर सम्मेलन’ हुँदै
Mayorsap
मंगल, पौष २, २०८१ | २२:१३ बजे
काठमाडौं । सुदूरपश्चिमको बृहत् विकासका प्राथमिकता, सम्भावना, अवसर र चुनौतीका विषयमा विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिकामा ‘पहिलो मेयर सम्मेलन’ हुँदैछ ।
यही पुस १५ र १६ गते हुने सम्मेलनमा सुदूरपश्चिमका सबै उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने जनाइएको छ । आयोजक परशुरामधामका नगरप्रमुख भरत बडायर जोशीले स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत यहाँको विकास प्रवर्द्धनका लागि सङ्गठित आवाज मुखरित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए ।
सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको मेयर जोशीले बताए ।
“सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहले दोस्रोपटक नेतृत्व पाएको पनि डेढ वर्षभन्दा बढी भइसकेको छ । यस अवधिमा हासिल गरेका उपलब्धि र अनुभव, सामना गरेका चुनौती तथा आगामी दिनमा सङ्गठित रूपमा गर्न सकिने कामका योजना बनाउन संवाद गर्ने अभिप्रायले सम्मेलन गर्दैछौँ”, नगरप्रमुख जोशीले भने, “स्थानीय तहका नेतृत्वकर्ता मात्रै होइन, हाम्रा क्रियाकलाप, विकास प्राथमिकता, कार्यान्वयन शैली र सुधारका पक्षमा विज्ञहरूबाट राय सुझाव लिई यस क्षेत्रका अद्वितीय सम्भावनालाई साकार गर्न नवीन योजना निर्माणमा टेवा पुर्याउन यसले भूमिका खेल्नेछ ।”
परशुराम नगरपालिकाका सल्लाहकार तेजराज विष्टले दुईदिने सम्मेलनका विषयवस्तु पहिचान, अतिथि छनोट तथा आमन्त्रण, कार्यक्रम ‘मोडालिटी’ तय गर्नुका साथै समग्र व्यवस्थापनका काम तीव्ररूपमा भइरहेका बताए । उनका अनुसार सम्मेलनका क्रममा युवा उद्यमशीलता, समावेशी विकास र बसाइँसराइ न्यूनीकरणका लागि सामाजिक उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास र समुदायलाई लाभ, स्थानीय आवश्यकतामा आधारित योजना र नीति/मार्गदर्शन, स्थानीय उत्पादन पहिचान तथा प्राथमिकीकरण (हरित उत्थानशील कृषि), विपद् व्यवस्थापन (जलवायु परिवर्तन) जस्ता विषयमा विमर्श सत्र आयोजना हुनेछन् ।
“स्थानीय आवश्यकतामा आधारित दिगो र उत्थानशील विकास, उत्पादन र उद्यमशीलताका लागि योजना निर्माण, सुदूरपश्चिमको बलियो र समृद्ध भविष्य निर्माण गर्न सबै मिलेर काम गर्ने आधार तय गर्न मेयर फोरमलाई थप क्रियाशील बनाउन सम्मेलन आयोजना गर्दैछौँ । यसलाई निरन्तर अभियानकै रूपमा अगाडि बढाउने हाम्रो योजना छ”, सल्लाहकार विष्टले भने ।
नगरप्रमुख जोशीले सम्मेलनकै अवसरमा परशुरामधामसँग जोडिएको महाकाली नदीमा ‘र्याफ्टिङ’ उद्घाटन र सुदूरपश्चिम प्रदेशका प्रत्येक नगरपालिका र गाउँपालिकाका लागि ‘ट्रि गार्ड’सहित ८८ रूद्राक्षका रूख रोप्ने योजनासमेत रहेको जानकारी दिए ।