रेसुङ्गा नगरपालिकाको रनिङ शिल्डको उपाधि रेसुङ्गा माविलाई
Mayorsap
सोम, माघ ७, २०८१ | २२:१६ बजे

गुल्मी । रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा चार कास्य पदकसहित राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
जितसँगै रेसुङ्गा माविले नगद १८ हजारसँगै राष्ट्रपति रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित सिद्धबाबा माध्यमिक दोस्रो तथा आठ स्वर्ण, सात रजत र १३ कास्य पदकसहित महेन्द्र माध्यमिक विद्यालय तृतीय भएको छ । द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु १३ र नौ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए ।
प्रतियोगितामा सबैभन्दा धेरै महेन्द्र माविले २८ पदक जितेको भएपनि स्वर्ण पदक महत्वपूर्ण भएकाले रेसुङ्गा मावि प्रथम भएको हो । प्रतियोगितामा लिटिल स्टारले तीन स्वर्ण, दुई रजत र एक कास्य, ब्रिलियन्ट युनाइडेट एकेडमीले तीन स्वर्ण, दुई रजत र छ कास्य, जनसहयोग माविले दुई स्वर्ण, एक रजत र दुई कास्य पदक प्राप्त गरेका छन् ।
त्यसैगरी भाडगाउँ माविले एक स्वर्ण, पाँच रजत र तीन कास्य, ब्राइटर इङ्लिस बोर्डिङ स्कूलले एक स्वर्ण, दुई रजत र दुई कास्य, रिडर्स पब्लिक हाइ स्कूलले एक स्वर्ण तथा दुई कास्य, गण्डकी इङ्गिस बोर्डिङ स्कूलले एक रजत र एक कास्य, त्रिभुवन माविले तीन रजत र तीन कास्य तथा भगवती माविले तीन रजत प्राप्त गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पन्थीले जानकारी दिए।
विजेतालाई पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले नेपालमा खेलबाटै खेलाडीले जीवनयापन गर्न सक्छन् भन्ने उदाहरण विभिन्न खेलकुद प्रतियोगितामार्फत पुष्टि भएको बताए । त्यसैगरी रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नगरपालिका सधैँ विद्यार्थी एवं युवा खेलाडीको पक्षमा रहेको भन्दै आगामी दिनमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।