व्यास नगरपालिकाद्वारा आयोजित महिला हाफ म्याराथनको उपाधि सेनामा कार्यरत विकले जितिन्
Mayorsap
बुध, माघ १६, २०८१ | २०:१६ बजे

तनहुँ । सहिद दिवसका अवसरमा व्यास नगरपालिकाद्वारा आज आयोजित चौथो व्यासनगर खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा विकले जितेकी छन् ।
व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गर्दै प्रथम पुरस्कार हात पारेकी हुन् । म्याराथनमा सहभागी ३३ जना धावकलाई पछि पार्दै उनले रु. ४१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।
उनका अनुसार ओखलढुङ्गा निवासी नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले दुई घण्टा चार मिनेट ५३ सेकेण्डमा पार गरी द्वितीय बनेकी छन् । उनले रु. ३१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
त्यसैगरी नेपाल प्रहरीमा कार्यरत काठमाडौँकी विमला तामाङले दुई घण्टा बाह्र मिनेट ३८ सेकेण्डमा पार गर्दै तृतीय स्थान हासिल गरी रु. २१ हजार ८१ ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन् ।
म्याराथनमा सान्तवना हुने नम्रता गुरुङ, सन्ध्या अधिकारी, अस्मिता थापा, सङ्गीता रानाभाट र मुना मजकोटी पाँच जनालाई जनही रु. ११ हजार ८१ का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यासकी उपप्रमुख इन्दिरा दरैले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् ।