गौशाला धर्मशाला काठमाडौं महानगरले चलाउन नपाउने
मारवाडी समुदायले जिते पशुपति विकास कोष र काठमाडौं महानगरविरूद्ध मुद्दा
Mayorsap
बिही, फागुन २२, २०८१ | १४:२५ बजे

काठमाडौं । उच्च अदालत पाटनले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको छ ।
न्यायाधीशद्धय मुनेन्द्र प्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो ।
२२ असोजमा पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरसँग सम्झौता गरेको थियो ।
यो सम्झौतापछि महानगर र कोषले गौशाला धर्मशालाबाट मारवाडी सेवा समीतिलाई हटाउन खोजेका थिए । गौशाला महानगरलाई चलाउन दिने कोषको निर्णयविरुद्ध मारवाडी सेवा समीति रिट लिएर उच्च अदालत पाटन पुगेको थियो ।
उच्च अदालत पाटलने २ कार्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । यही रिटमाथि सुनुवाइ गर्दै २१ फागुनमा उच्च अदालत पाटनले काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको छ । यससँगै पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले चलाउने बाटो खुलेको छ ।
पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबिच १२ जेठ २०६० मा पशुपति गौशाला धर्मशाला चलाउने सम्झौता भएको थियो । तर, कोषले १७ साउन २०८० मा समितिसँग गरेको सम्झौता खारेज गर्यो ।
कोषले एकतर्फी रुपमा सम्झौता खारेज गरेपछि मारवाडी सेवा समिति अदालत पुग्यो । जिल्ला अदालत काठमाडौंले १६ असोजमा सम्झौता खारेज गर्ने कोषको निर्णय सदर गर्यो । जिल्ला अदालत काठमाडौंको आदेशपछि कोषले महानगरलाई गौशाला धर्मशाला सञ्चालन गर्न दिने निर्णय र सम्झौता गर्यो ।
यही सम्झौताअनुसार २३ असोजमा महानगर धर्मशाला खाली गराउन जाँदा मारवाडी सेवा समिति र महानगर प्रहरीबिच धकेलाधकेल भएको थियो ।
मारवाडी सेवा समितीले १९९७ देखि पशुपति गौशाला धर्मशाला चलाउँदै आएको छ । समितिकाअनुसार यो गौशाला धर्मशालाको स्थापना औद्योगिक घरना केडिया ग्रुपका समेत संस्थापक रहेका रामकुमार मारवाडीले गरेका हुन् । २ माघ १९९० मा आएको भूकम्पले ८५ सयभन्दा बढीको ज्यान लियो । २० हजार भन्दा बढी संरचना भत्किए । राजधानी काठमाडौं अस्तव्यस्त भयो । मान्छेहरु खुला ठाउँ खोज्दै टुँडिखेलमा जम्मा भए । भूकम्पको त्रासले टुँडिखेलमा जम्मा भएकालाई काठमाडौंका मारवाडी समुदायले खाना खुवाए ।
मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालकाअनुसार भूकम्पको विपद्मा मारवाडी समुदायले सहयोग गरेका थिए । उनकाअनुसार मारवाडी समुदायले भूकम्प पीडितलाई लुगा, कपडा र कात्रे उपलब्ध गराए । तत्कालीन प्रधानमन्त्री जुद्ध शमेसर मारवाडी समुदायको सेवा देखेर प्रभावित भएका थिए ।
भूकम्पको करिब नौ वर्षपछि वि.स १९९७ मा मारवाडी समुदायले काठमाडौंमा गौशाला बनाउन जमिन खोज्न थाले । जुद्ध शमसेरले यो कुरा थाह पाएपछि हाल पशुपतिको पश्चिममा रहेको जमिन गौशाला धर्मशाला चलाउन भनेर उपलब्ध गराएका थिए । त्यसयता मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशाला चलाउँदै आएको थियो ।