Ad Image

दुई दिनदेखि अवरुद्ध संसद बैठक चल्ला त आज ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743127057.jpg

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः०० बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । 

 

यसैगरी आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ । यस्तै पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन् ।

 

साथै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खडकाले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बिहीबार बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसकेपछि आज बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको थियो । 
 

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै प्रतिपक्षी दलले बुधबारदेखि संसद बैठक चल्न दिएका छैनन् ।  बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरी प्रयास गरे पनि हल निस्कन सकेको छैन ।
 

प्रतिपक्षी दलले घिसिङलाई हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफूले घिसिङ हटाउने विषयमा संसदमा जवाफ नदिने बुधवार बताएपछि सत्ता पक्ष र प्रतिपक्षबीच कुरा मिलेको छैन ।