Ad Image

राजा फर्काउने आन्दोलनका कमाण्डर नवराज सुवेदी ‘हाउस एरेस्ट’, दुर्गा प्रसाईँ भूमिगत

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743185468.jpg

काठमाडौं । सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक बयोवृद्ध नेता नवराज सुवेदीलाई घरभित्रै थुनामा राखेकाे छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र नेता धवल शमशेर जबरा, स्वागत नेपाललगायतलाई पक्राउ गरेकाे छ ।

 

उपत्यका अपराध महाशाखाले धवल शम्सेर,रविन्द्र मिश्र र स्वागत नेपाललाई पक्राउ गरेको र सुवेदीलाई होम एरेष्ट गरेको हाे।

 

८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो । तीनकुनेमा आज भएकाे आन्दाेलनमा ताेडफाेड, आगजनी तथा पत्रकारकाे हत्यासम्मका घटना घटेपछि सरकारले राजतन्त्र पक्षधरकाे नेतृत्व गरेर आन्दाेलन चर्काउने मुख्य नेतृत्वलाई नियन्त्रणमा लिएर कार्बाही चलाउने निर्णय गरेकाे थियाे ।

 

राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष सुवेदी ३० वर्षदेखि राजनीतिमा सक्रिय थिएनन् । यद्यपी उनी राप्रपाको नेतृत्वमा थिए । पछिल्लोपटक पूर्व राजा ज्ञानेन्द्रको आग्रहमा उनी आन्दोलन परिचालन समितिको संयोजक बनेका थिए ।

 

शुक्रवारको आन्दोलनमा उनी अश्रु ग्याँस खाएपछि मन्च छाडेर हिँडेका उनलाई चाबहिल गौरीघाटस्थित निवासबाट बाहिर निस्कन नमिल्ने गरी नजरबन्द गरिएको छ ।

 

त्यस्तै राजावादीकाे आन्दाेलन उग्र बनाएर सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएको कसुरमा प्रहरीले दुर्गा प्रसाईँकाे खाेजी तीब्र पारेकाे छ ।  उनी भूमिगत भएकाे प्रहरीले जनाएकाे छ ।  उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म प्रहरीले फेला पार्न सकेकाे छैन । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् ।