भाषिक हिंसाप्रति भाषा आयोगको ध्यानाकर्षण
Mayorsap
सोम, फागुन २६, २०८१ | १६:४२ बजे

काठमाडौँ । भाषासम्बन्धी कुनै पनि प्रकारको हिंसाजन्य कार्यबाट बच्ने र बचाउने दायित्व सबै नागरिक भएकाले यस विषयमा संवेदनशील हुन भाषा आयोगले आग्रह गरेको छ । सामाजिक सहअस्तित्व र सद्भावपूर्ण व्यवहार अपनाई सामाजिक एकताको प्रवर्द्धन गर्न पनि आयोगले अपिल गरेको छ ।
नेपाल भाषा वक्ता गायक कुमः सागरको लवजलाई लिएर एक ‘पोडकास्ट’मार्फत खिसीटिउरी गरिएको विषयमा आयोगमा उजुरी परेपछि आयोगले उक्त विषयलाई सम्बोधन गर्दै प्रतिक्रिया जनाएको हो । मातृभाषा प्रयोग गर्ने क्रममा वक्ताको उच्चारण, भाषिक स्तर तथा क्षेत्रीय भिन्नताका आधारमा हुने खिसीटिउरी, अपहेलना र मानमर्दन कार्य भएको विषयमा थप अनुसन्धान र छानबिनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि आयोगले गरेको छ ।
नेपालभाषा प्रवर्द्धनका लागि काम गर्दै आएको ‘नेवा देयः दबू’ले नेपालभाषी वक्तामाथि गरिएको भाषिक अपहेलनाबारे आयोगसमक्ष उजुरी दर्ता गराएको थियो । सो उजुरीका आधारमा आयोगले नेपालमा बोलिने सम्पूर्ण भाषाहरूको सम्मान हुनुपर्ने भन्दै कुनै पनि भाषा वा भाषिक समुदायमाथि हिंसात्मक व्यवहार स्वीकार्य नहुने बताएको हो ।
आयोगले यसप्रकारका घटनाबाट बच्न तथा बचाउन सबै नेपाली नागरिकलाई सामाजिक सहअस्तित्व, सद्भावपूर्ण व्यवहार र एकताको प्रवर्द्धन गर्न आग्रह गरेको छ ।