किसानबाट प्रति केजी ६० को फापर डेढ सयमा खरिद गर्दै आँबुखैरेनी गाउँपालिका


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले नौ जना कृषकद्वारा उत्पादित ६ सय ५० केजी फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।
आँबुखैरेनी–६ प्युघरकी सेती गुरुङले विगतका वर्षहरूमा प्रतिकेजी ६० रुपैयाँमा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकेजी एक सय ५० का दरले खरिद गरेको जानकारी दिइन् ।सोही स्थानका मिलनले फापर उत्पादनपश्चात् बिक्रीको समस्या नरहेको बताए । ‘गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ’, उनले भने ।
ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । विगतमा यहाँका कृषकले विचौलियामार्फत प्रतिकेजी ६० रुपैयाँमा फापर बिक्री गर्दै आएकोमा पालिकाले हाटबजारमार्फत प्रतिकेजी एक सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनको भनाइ छ ।
केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताए । आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिए ।