धनकुटामा जिप दुर्घटना हुँदा ८ जना घाइते


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३, कुसेटारस्थित तमोर करिडोर सडक खण्डमा आइतबार राति जिप दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । दुर्घटना राति करिब १० बजेतिर भएको हो ।
ताप्लेजुङबाट धनकुटातर्फ जाँदै गरेको मे १ ज २६५५ नम्बरको जिप अनियन्त्रित भई सडक छेउको कल्भर्टबाट करिब १० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा चितवन भरतपुर–११ की ४५ वर्षीया नमकला फुयाँल, ४७ वर्षीय जयेश्वर पोखरेल, ३८ वर्षीया इसु पङ्गेनी, २२ वर्षीया निकिता फुयाँल, जलेश्वरका १६ वर्षीय छोरा शिरीष पोखरेल, ४६ वर्षीया सावित्री अधिकारी, ५२ वर्षीय दिपचन्द्र घिमिरे र ४५ वर्षीय नवराज फुयाँल घाइते भएका छन् ।
प्रहरीका अनुसार सबै घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।